पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई रुपन्देहीमा पक्रने तयारी, छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

अर्घाखाँचीमा रहेका रायमाझी बिहीबार रुपन्देही आइपुगेको र उनलाई पक्राउ गर्ने तयारी भएको प्रहरीका एक वरिष्ठ अधिकृतले जानकारी दिए।

काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा तानिएका पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले रुपन्देहीमा पक्राउ गर्ने तयारी गरेको छ।

अर्घाखाँचीमा रहेका रायमाझी बिहीबार रुपन्देही आइपुगेको र उनलाई पक्राउ गर्ने तयारी भएको प्रहरीका एक वरिष्ठ अधिकृतले जानकारी दिए। “उहाँलाई पक्राउ गर्ने तयारीमा छौँ,” उनले भने, “उहाँका छोरा सन्दीपलाई हिजो साँझ नै पक्राउ गरिसकेका छौँ। सन्दीपलाई अहिले भैरहवाबाट जहाजमा काठमाडौँ ल्याईंदैछ।”

नक्कली शरणार्थी प्रकरणमा बुधबार मात्र प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो। पाण्डे त्यसअघि गृहसचिव थिए।

पाण्डेभन्दा पहिले मंगलबार प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो।

यसअघि गिरोहका मुख्य योजनाकार केशव दुलालसहित सानु भण्डारी, सागर राई र टेक गुरुङ पक्राउ परिसकेका छन्।