नेपालीहरू विदेशमा स्थायी रूपले बस्न थालेपछिको पहिलो पुस्ताले बल्ल राम्रोसँग पाइला टेक्न थालेका छन्। उनीहरूले नेपालको सम्पत्ति बेचेर विभिन्न गैरकानूनी माध्यमबाट धमाधम आफू बस्ने देशमा लान थालेका छन्।
नवनिर्वाचित सांसद स्वर्णिम वाग्लेले गत ‘उपचुनावी सभा’का क्रममा धेरै पटक यो प्रसंग उठाइरहे– विकसित हुनका लागि अब नेपालसँग १० वर्ष मात्रै छ, त्यसपछि हामी बुढ्यौली समाजतर्फ उन्मुख हुनेछौँ, हामीले जे गर्नु छ, यही १० वर्षभित्र गरिहाल्नुपर्छ। नत्र ढिलो हुनेछ, त्यही हतारोले गर्दा पनि म रास्वपामा प्रवेश गरेँ।
१० वर्षपछिको नेपालबारे कुरा गर्दा उनले अर्को महत्त्वपूर्ण पक्ष छुटाए। आज कक्षा १२ पास गरेका अधिकांश विद्यार्थी ‘नेपालमा बस्छु’ भन्दैनन्। एसईई दिने विद्यार्थीलाई अब ‘प्लस टु’मा के पढ्ने भनेर सोध्दा ‘बाहिर जानका लागि जे पढ्दा सजिलो हुन्छ, त्यही पढ्ने’ भनेर सहजै उत्तर दिन्छन्।
डा. अच्युत वाग्ले लगायतका अर्थशास्त्रीले नेपालको विश्वविद्यालयमा पढ्ने विद्यार्थी पाइने दिन समाप्तिको चरणमा छ भनेर बारम्बार उल्लेख गर्ने गरेका छन्। हालै काठमाडौँ विश्वविद्यालयले विद्यार्थी नै नपाएकाले विभिन्न विधाका शैक्षिक कार्यक्रम बन्द गर्नुपरेको जनाएको छ।
काठमाडौँको एक प्रतिष्ठित कलेजका सञ्चालक मेरा नातेदारले बताएअनुसार उनको कजेलमा पढ्ने विद्यार्थीको गुणस्तर अत्यन्त न्यून छ। कक्षा १२ पछिका गुणस्तरीय विद्यार्थी एक जना पनि नेपालमा नटिक्ने, कोही टिकेकै भए पनि भिसा प्रक्रिया पूरा भएर बाहिर जान नपाउञ्जेल सम्मका लागि मात्रै हुन् भन्दै थिए उनी।
उनको कथनी मान्ने हो भने कलेज बन्द गरेर कलेजमा नै 'कन्सल्टेन्सी' चलाउनुपर्ने स्थिति छ। अहिलेको नयाँ पुस्तालाई नेपालमै बुढ्यौली गुजार्नुपर्ला भन्ने लागेको जस्तो देखिँदैन। त्यसकारण पनि नेपाल विकसित नहुँदा भोलि आफूले दुःख पाइएला कि भनेर सोच्ने समयसमेत उनीहरूसँग छैन। पढ्ने–लेख्ने र सीप भएका युवाहरू पाएसम्म आजै र अहिल्यै नेपाल छोड्न तम्तयार रहेपछि बुढ्यौली त आजै र अहिल्यै शुरू भइसक्यो नि!
केही हप्ता पहिले सरकारले ‘अब कक्षा १२ मात्र पास गरेका विद्यार्थीलाई एनओसी नदिइने’ भन्ने खालका खबरहरू कतिपय नेपाली मिडियामा छाए। यही विषयलाई लिए विद्यार्थीको सडकमा विरोध प्रदर्शनसमेत भयो। विदेशमा भाषा सिक्न, कुनै छोटो तालिममा जान वा सोसरहका कुनै मासिक, त्रैमासिक वा एकवर्षे कोर्स गर्न विदेश जानलाई एनओसी नदिँदा नेपालमा नै थन्किनुपर्ने भयो भन्ने पिरले छटपटिएका विद्यार्थीहरू त्यस आन्दोलनमा सामेल थिए।
यसको अर्थ हो, जुनसुकै युवा कुनै पनि बहानामा देशबाट भाग्न चाहन्छ। नेपालमा अधिकृत स्तरीय जागिर छोडेरसमेत विदेश भासिएका छन्। यताको हुँदाखाँदाको जागिर छाडेर अमेरिकामा खुशीका साथ 'हटडग' बेच्दै समुद्री तटमा रमेको फोटो फेसबुकमा राख्नु कतिपयको कहानी बनेको छ। युवा पलायनको अवस्था यस्तो छ कि नेपालमा भन्दा विदेशमा कम पैसा नै कमाए पनि नेपालीजन विदेश नै भाग्न चाहन्छ। यस्तो लाग्छ, प्रत्येक व्यक्तिलाई हतारो छ, कसरी र कहिले हुन्छ देशबाट छुटकारा पाऊँ, विदेश भागौँ भइरहेको छ।
कलेज तथा विश्वविद्यालयले स्नातक पढ्ने विद्यार्थी नपाउने समस्या एउटा भयो, विद्यार्थीहरूले सधैँका लागि नेपाल छोड्ने र विदेशी नागरिक बन्ने एक मात्रै अभिलाषा राख्ने कुराचाहिँ नेपालको दीर्घकालीन विकाशकै लागि चुनौतीपूर्ण हुने देखियो। विद्यार्थीहरू पढ्न र बस्न लाग्ने खर्च पनि आफूसँगै लान्छन्। कालान्तरमा उतैको नागरिक भएपछि पाएसम्मका उपाय लगाएर यताको सम्पत्तिसँगै बचेखुचेका हजुरबा–हजुरआमा र बुवा–आमा पनि विदेश नै लैजानेछन्।
हालैको एक टेलिभिजन अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा प्रसंग सुनाए। नेपालको पश्चिम क्षेत्रको भ्रमण गर्ने क्रममा उनले २१ वर्षे एक युवकलाई भेटेछन् र तिनीसँग आगामी योजना के छ भनेर सोधेछन्। युवकले आफू चाँडै नै पोल्यान्ड जान लागेको बताए छन्।
भट्टराईले केही समयपछि त पक्कै फर्कनुहोला नि नेपाल भनेर सोध्दा तिनले ढुक्कैसँग नेपाल किन नफर्कने भन्ने पक्षमा आफ्नो तर्कसहितको जवाफ फर्काए छन्। भट्टराईले अन्तर्वार्तामा ती युवाको कुराले आफूलाई तत्त्वबोध भएको बताए। यो खासमा घरघरको कथाव्यथा हो, कुनै नौलो र 'तत्त्वबोध' हुनुपर्ने कुरो थिएन। भट्टराई जत्तिका जानेमानेका राजनीतिज्ञको यस्तो मनोदशा छ। यसले के पनि दर्साउँछ भने, हाम्रा नेतागण स्वार्थ समूहबाट घेरिएका छन् र जनताबाट टाढा छन्। यसोभन्दा अन्यथा हुँदैन–स्वार्थ समूहहरूको कारिन्दाका रूपमा छन् हाम्रा धेरैजसो नेतागण।
राजनीतिक दलका नेताहरू जो संसद्मा पुगेर नीति नियम बनाउँछन्, उनीहरू जनताको यथार्थबाट यति टाढा छन् कि जनताको मनोदशासमेत बुझ्दैनन्। सोही कारण पनि होला रवि लामिछानेको पार्टी (रास्वपा)लाई शहरीयाहरूले एकोहोरिएर भोट हाल्दै गर्दा मूलधारका पार्टी र स्थापित नेताहरूले त्यसको पूर्वाकलन गर्न सकेनन्।
पोर्चुगल, पोल्यान्ड लगायतका देशमा काम गर्न नेपालीहरू जान्छन्। कतिपय सन्दर्भमा त नेपाल जत्तिको समेत कमाइ नहुने देशमा पर्छन् यी। त्यसो हुँदाहुँदै पनि ती युवक किन त्यहाँ जान लालायित छन् त? किनकि, १० वर्षसम्म कौडी पैसा नकमाई बस्नु परे पनि पोल्यान्डबाट युरोपको कागज बनाउने ध्याउन्न छ उनीहरूको। अर्थात् कमाइ हुने देशमा सर्ने लक्ष्य राखेर पोल्यान्ड जान्छन् उनीहरू।
किन ८० लाख खर्च गरेर दक्षिण अमेरिकाका जंगलदेखि मेक्सिकोका मरुभूमि पार गर्दै अवैध तरिकाले अमेरिका छिर्न मरिहत्ते गर्छन् नेपाली? ८० लाख खर्च गर्दै, ज्यान धरापमा राख्दै अमेरिका छिर्न खोज्ने युवालाई त्यति ठूलो रकम लगानी गर्दा नेपालमा नै कुनै ठूलो व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने थाहा नहोला र? नेपालमै आफ्नै केही गर्छु भन्ने सन्तानलाई बाबुआमाले समेत पैसा दिँदैनन्/विश्वास गर्दैनन्, बरु ऋण गरीगरी भए पनि अस्ट्रेलिया पठाउन पर्याप्त लगानी गर्छन् भन्नेबारे धेरैलाई थाहा नभएको होइन।
गत वर्षको फेब्रुअरीमा युक्रेनमा युद्ध शुरू भएपछि त्यहाँबाट विदेशीहरू उद्धार गर्ने क्रममा त्यहाँ फसेका करिब दुई सय नेपालीहरूको उद्धार गर्नुपर्ने भन्ने समाचार आयो। भारतले आफ्ना नागरिकलाई उद्धार गरी भारत लैजाने भयो। यसै मेसोमा नेपाल सरकारले नेपालीको समेत उद्धार गरिदिन भारत सरकारसँग अनुरोध गर्यो। बर्लिनस्थित नेपाली दूतावासले त्यसका लागि पहल गर्यो, नेपालीहरूलाई उद्धारको निम्ति सम्पर्कमा आउन सार्वजनिक आह्वान गर्यो।
तर नेपालीहरू उद्धार भएर नेपाल आउन राजी भएनन्। कोही पनि उद्धारकर्ताको सम्पर्कमा आएनन्। भारतीय विद्यार्थीहरू सस्तोमा मेडिकल शिक्षा लिन युक्रेन गएका थिए, तर हाम्रा नेपालीहरू पश्चिम युरोपको गन्तव्य बनाएर दलालमार्फत विभिन्न देश हुँदै त्यहाँ पुगेका थिए। त्यसपछि त्यहाँका नेपालीहरू उद्धार भएर नेपाल फर्किनुभन्दा ज्यान माया मारेर अवैध बाटोबाट युरोपका विभिन्न देशतिर लागे।
सन् २०२१ को अगस्टमा जब रातारात अमेरिका सहितका देशहरूले अफगानिस्तान छोडे, त्यहाँस्थित ब्रिटिस सरकारका निकायहरूमा सुरक्षार्थ खटिएका नेपाली गार्डहरूलाई उद्धार गरी बेलायत लागिएको थियो। हाल उनीहरूलाई नेपाल नै डिपोर्ट गरिएपछि त्यहाँ ठूलो हंगामा भएको छ। यी गार्ड दाजुभाइ नेपालीहरूको एउटै मात्रै माग बेलायतले बाचा गरेअनुसार उनीहरूलाई जसरी पनि सधैँका लागि बेलायतमा बस्न दिनुपर्छ भन्ने रहेको थियो।
यस्ता उदाहरण बग्रेल्ती छन्। प्रश्न त उठ्छ नै, आखिर किन कोही युवाले नेपालमा भविष्य देख्नै नसक्ने स्थितिमा पुगेको छ? नेपालभन्दा कम कमाइ हुने देशमा पनि किन नेपालभन्दा सुरक्षित भविष्य रहेको भान हुन थालेको छ? घण्टी त्यसै बजेको होइन भनेर कसले बुझ्ने!
आर्थिक पाटो:
काठमाडौँ उपत्यकाका सटर धमाधम बन्द भएको, व्यापार व्यवसाय चौपट रहेको, घर भाडामा लाग्न छोडेको, जनतासँग खर्च गर्न पैसा नभएर पूर्ण रूपले आर्थिक मन्दी उन्मुख रहेको हामीले देखिरहेका छौँ। मन्दीका धेरै कारणहरूमध्ये एक प्रमुख कारण सधैँका लागि पलायन हुँदै गरेका पुँजीपति परिवारहरू दिनानुदिन बढ्नु पनि हो।
हामीले ख्यालै नगरेको कुरा के हो भन्दा, नेपालीहरू विदेशमा स्थायी रूपले बस्न थालेपछिको पहिलो पुस्ताले बल्ल राम्रोसँग पाइला टेक्न थालेका छन् र अब बल्ल उनीहरूले नेपालको सम्पत्ति बेचेर विभिन्न गैरकानूनी माध्यमबाट धमाधम आफू बस्ने देशमा लान थालेका छन्। यसअघि केही हदसम्म भए पनि उनीहरूबाट रेमिट्यान्स भित्रिने गर्थ्यो। तर अब, स्थायी रूपमा विदेशी नागरिकता लिएर आजीवन उतै बसोबास गर्नेहरू दिनानुदिन बढ्दै छन्। अब उनीहरूमार्फत रेमिट्यान्स नेपाल भित्रिने होइन कि, बरु यताको श्रीसम्पत्ति बेचेर उता कसरी लाने भन्नेमा उनीहरूको ध्यान रहनेछ।
हामीले उच्च तहका अधिकांश बहालवाला वा भूतपूर्व कर्मचारी, सुरक्षाकर्मी, नेता, व्यापारीका सन्तान आदिलाई हेर्यौँ भने, उनीहरू पारिवारिक रूपमा नै विदेशी नागरिक भएर उतै ‘सेटल’ भइसकेका वा हुँदै गरेका देख्छौँ। यी परिवारहरूले नै होल्ड गर्ने हुन् नेपालको अधिकांश पुँजी। यसबाट के अनुमान गर्न गाह्रो छैन भने, अब जतिजति नेपाल आर्थिक संकटोन्मुख हुँदै जान्छ, त्यतित्यति नै तीव्र रफ्तारमा ती पुँजीवालाहरूका सन्तान रहेका देशमा यताको सम्पत्ति दिन दुई गुणा, रात चौगुनाका दरले पलायन हुँदै जानेछ।
कोभिडपछि पुनर्जीवन दिएर चलाउने भनिएको दरबारमार्गको अन्नपूर्ण होटलको हालत के छ भने विगतमा कुनै बेला प्रतिआना सात करोडसम्म मूल्य पुगेको त्यहाँको जग्गा ऋण तिर्न नसकेर अहिले दुई करोडमै डिल गर्न बाध्य हुनुपरेको छ। जोसँग पुँजी छ, उनीहरू नेपालमा भन्दा त बरु बाहिर नै आफ्नो सम्पत्ति सुरक्षित रहन्छ भनेर भएजति पुँजी खुरुखुरु उतै पठाउँदै छन्। यस्तो बेला यता नेपालमा बढ्ने घट्ने केही ठेगान नभएको घरजग्गामा उनीहरूले जोखिम लिएर अब किन लगानी गर्थे?
हाम्रो पछिल्लो (विसं. २०७८ को) जनगणनाले अब हामी घट्दो जनसांख्यिक देश हुँदै गएको देखाउँछ। यो जनसंख्या घट्ने ग्राफ झन् तीव्र गतिले बढ्ने देखिन्छ। हालसम्म हाम्रा अधिकांश युवा श्रमका निम्ति खाडी जाँदै छन्, उनीहरूले नेपालमा रेमिट्यान्स पठाउँछन् र नेपालको अर्थतन्त्र धानिएको छ। तर प्रश्न उठ्छ– के अबको १५ वर्षपछि हाल खाडी गएकाहरूको सन्तान फेरि खाडी नै जान्छन् त?
आज जसरी शहरबजारमा बसोबास गर्ने आमाबुवाका सन्तान अमेरिका, अस्ट्रेलिया र युरोप जान्छन्, त्यसरी नै अबको १५ वर्षपछि अहिले खाडी जानेका सन्तान पनि पहिलो विश्व कहलिएका तिनै देशहरू जानेछन्। हालसम्म पो खाडी जानेहरूको सपना शहरमा एउटा घर बनाऔँ, बालबच्चालाई राम्रो पढाऔँ, घरमा टेलिभिजन, छोरालाई बाइक किनौँ भन्ने छ र देश अझै चलेको छ। १५ वर्षपछि आजकै स्थितिमा खाडी जाने कोही बाँकी नरहँदा कसले किन र केका लागि नेपालमा जग्गा किन्ने, घर बनाउने, बाइक किन्ने?
हालकै स्थिति कायम रहे, १५ वर्षपछि नेपालमा ठूलो सन्नाटा छाउनेछ। हालका वृद्धहरू बितिसकेका हुनेछन् भने सिंगो नेपाल युवाविहीन हुनेछ। नयाँ बच्चा जन्माइदिने नेपाली युवा नेपालमा हुने छैनन्। त्योबेला सम्पत्ति बेचेर लगिसकेपछि शून्य रेमिट्यान्सको स्थितिमा नेपाल पैसाविहीन पनि हुनेछ। पैसा र युवाविहीन नेपाल ३ करोडबाट २ करोड अर्थात् ‘मास एकसोदस्’ जनसंख्यामा झरेको नेपाल हुनेछ, सिर्फ ढुंगा र माटोको मृत नेपाल बाँकी रहनेछ।
हाल जर्मनीमा रही सफ्टवेयर डेभलपरका रूपमा काम गरिरहेका बस्नेत कम्प्युटर विज्ञानमा स्नातकोत्तर हुन्। राजनीतिमा चासो राख्ने उनी पहिले तत्कालीन विवेकशील नेपाली दलसँग आबद्ध थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
