रास्वपाको संयुक्त बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।

काठमाडौँ– सरकारमा जाने/नजाने विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संयुक्त बैठक बस्दैछ।

रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो। यसअघि सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारबारे मिश्रित धारणा आएपछि आज संयुक्त बैठक बस्न लागेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

पछिल्लो समय रास्वपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने समाचारहरू बाहिरिएका थिए। आजको बैठकपछि यसबारे आधिकारिक धारणा आउने उनको भनाइ छ।

“हामीले अहिलेसम्म आधिकारिक रूपमा केही भनेका छैनौँ। आज त्यसबारे नै छलफल गर्न बैठक बोलाइएको हो,” बुर्लाकोटीले भने, “बैठकपछि पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्छ।”