नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ। 

काठमाडौँ– नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

बिहीबार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिइएको छ।

दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिक स्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताएका छन्।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु अस्ट्रेलियाको उत्तरपूर्वमा प्रशान्त महासागरको नजिक अवस्थित देश हो।