हेलिकप्टर दुर्घटना अपडेट : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

संखुवासभा– सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। 

नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ।

दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो। अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टर माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो।

यो पनि : सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना