ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। यहाँका किसानको आम्दानीको मुख्य स्रोत अलैँची नै हो। तर, मूल्यमा आएको गिरावट र विभिन्न प्रकोपका कारण उत्पादन घट्ने भन्दै चिन्तित छन्।
ताप्लेजुङ– पूर्वी पहाडको प्रमुख नगदेबाली अलैँची रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण मर्न थालेको छ। अलैँचीको बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
खडेरीले फस्टाउन नसकेका बोटमा असिनाले थप क्षति पुर्याएको ताप्लेजुङ मेरिङदेन गाउँपालिका–४ का इन्द्रकुमार हांगामले बताए। “यसपालि खडेरीले बोट फस्टाउन सकेन। त्यही माथि केही दिनअघि असिनाले क्षति पुग्यो,” उनले भने, “हिजोआज हरियो रंगको झुसुले जस्तै देखिने कीरा लाग्न थालेको छ। अलैँची बगान सखाप हुने भयो।”
उनका आसपासमा रहेका छिमेकीका बगानमा पनि रोग कीराको प्रकोप फैलिएको छ। सिरीजंघा गाउँपालिकाको तेल्लोक, पेदाङ, खेवाङलगायत ठाउँमा अलैँचीका बोट सुक्न थालेका छन्। तीन दिनसम्म लगातार परेको असिनाले पेदाङलगायतका ठाउँमा आधाजसो अलैँचीका बोट भाँचिएको यहाँका वडाध्यक्ष बमबहादुर गौतमले बताए। “केही दिनअघि लगातार तीन दिन साँझपख असिना पर्यो। अलैँचीका बोट भाँचिएका र सुक्न थालेका देखिन्छन्,” गौतमले भने, “अलैँचीसँगै किवी र मकै बालीमासमेत क्षति पुग्यो।”
अलैँची खेती गर्दै आएका सिदिङ्वा, मिक्वाखोला, फक्ताङलुङ गाउँपालिकाका किसानले समेत खडेरी, असिना र रोग किराले अलैँचीमा क्षति पुगेको बताएका छन्। असोजदेखि फागुनसम्म ताप्लेजुङमा प्रयाप्त वर्षा भएको थिएन। फागुन मध्यदेखि सामान्य वर्षासँगै हिमपात भएको थियो। खडेरीले विशेषगरी अलैँची बालीमा बढी असर पुगेको किसानले बताएका छन्। खडेरीले जमिन सुक्खा हुँदा अलैँचीका बोट सुकेको र सिँचाइ उपलब्ध क्षेत्रमा समेत फस्टाउन नसकेको सिरीजंघा– ७ खेवाङका लक्ष्मण अधिकारीले बताए।
“मूल्यमा पनि सुधार छैन, यो पटक खडेरी, असिना र रोग किराले गोडमेलकै खर्च नउठ्ला भन्ने चिन्ता छ,” अधिकारीले भने। कतै पात सुक्दै गएका छन् भने कतै बोट नै मर्न थालेका छन्। यो समयमा हरियाली देखिनुपर्ने अलैँचीका बगान उजाड भएको स्थानीयले बताएका छन्। असिना र खडेरीले अलैँची बालीमा निक्कै क्षति पुगेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाले बताए।
“अधिकांश अलैँची बगानमा असिनाका कारण क्षति पुगेको देखियो,” उनले भने, “यसले गत वर्षको तुलनामा उत्पादन घट्न सक्ला भन्ने अनुमान छ, तर के कति घट्छ भन्ने यकिन गरिसकेका छैनौँ।” यस्तै आकस्मिक रूपमा आएको रोग किराजस्ता प्रकोपको न्यूनीकरणमा कृषि ज्ञान केन्द्रले सहयोग गर्ने केन्द्रले जनाएको छ।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। तर मूल्यमा आएको गिरावटसँगै मौसमी प्रणाली र रोग किराको प्रकोपले उत्पादन घट्ने भन्दै चिन्तित छन्। आजभोलि ताप्लेजुङमा प्रतिमन अलैँचीको मूल्य ३५ हजार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
