भैँसीलाई जंगलमा छाड्ने, पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सोहोर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्।
म्याग्दी– अन्नपूर्ण गाउँपालिका ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जंगलले घेरिएको छ। समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जंगलबीचमा खर्क छ।
यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन्। “यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो,” ७६ वर्षीय पुनले भने, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छाडेर जान मन लागेको छैन।”
बाबुबाजेले गर्दै आएको भैँसीपालनलाई निरन्तरता दिन जंगल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तर प्रदेशमा १६ महिना बिताएका थिए। तीन छोरी र दुई छोराका अभिभावक उनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाइरहेका छन्।
“राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु,” पुन भन्छन्, “२०४५ सालतिर गलेश्वरमा कृषि मेला प्रदर्शनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो।” वर्षमा चार/पाँच वटा राँगारभैँसी र मासिक २० देखि ३० लिटरसम्म घ्यू बेच्छन्।
घ्यू घोडेपानी, हिस्तान, राम्चे र पोखरा पुर्याउनुपर्छ। दूध, दही गोठमा नै बिक्री हुन्छ। दुई वर्ष पालेको राँगा ५० हजार, दुहुना भैँसीलाई एक लाख रुपैयाँसम्म मूल्य पर्छ। श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसी पालनमा साथ दिएका छन्। छोरी घरमा छन्। विवाह भइसकेका दुई जना छोरी पोखरामा बस्छन्। एक छोरा बेनीमा छन्। छोराछोरी पढाउने खर्च भैँसी पालनबाटै खर्च जुटाएको उनले सुनाए। “दिदीहरूको पोखरामा आफ्नै घर छ। बुबालाई उतै राख्ने भनेर लानुभएको थियो,” रेमुले भने, “बजारको कोलाहल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर फर्किनुभयो।”
नन्दप्रसादको जंगल बसाई फरक किसिमको छ। उनले भैँसी बाँध्ने गोठ र आफू बस्ने घर काठ काठको बनाएका छन्। छानो र चारैतिर काठले बारेको घरको भुईँमा बस्ने ठाउँमा पनि काठ नै छन्। काठको घर न्यानो हुने र धेरै खप्ने नन्दप्रसादले बताए।
तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ। हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ। पर्यटक, पर्यटक मजदुरले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन्।
भैँसीलाई जंगलमा छाडिदिने गर्छन्। गोठमा बाँधिएका पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्। भैँसी गोठ नजिकै पाँच रोपनी जमिनमा आलु, साग, बन्दा र काउली खेती गर्छन्।
चम्किलो र हँसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जंगल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउँदैनन्। गीत संगीत सुन्दै काम गर्ने उनी अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
