भ्रष्टाचारीविरुद्धको अभियान रोकिँदैन, दबाबमा नपरी कारबाही अघि बढ्छ : प्रधानमन्त्री

सिंहदरबारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीविरुद्धको अभियान नरोकिने बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए। उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। 

“यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ। दोषी कोही नछुट्न, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ,” उनले भने, “म दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छ।”