राष्ट्रियसभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणविरुद्ध किन पक्राउ पुर्जी जारी भएन?

सांसद देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।

काठमाडौँ– राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरेका छन्।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए। 

“नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ। पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ। मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो,” उनले भने, “यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरूलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन।”

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारको सार्वजनिक कार्यक्रममा ‘ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको उल्लेख गरे। 

नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसद्मा नेकपा एमालेले उठाएको दाबी गरे। “कुनै पनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन। हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो,” उनले भने। 

उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे।