प्रतिनिधिसभाको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान अर्बौं रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिए सत्तापक्ष र प्रतिपक्षीका सांसदबीच जुहारी चलेको छ।
काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौं रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सो विषयमा धारणा राखे।
नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिंगो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे।
“सत्यतथ्य, पारदर्शी ढंगले छानबिन गरियोस्, तर हामी आज सुन्दै छौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ”, उनले भने।
सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए। सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने।
सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष बुझाउन आग्रह गरे।
सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए। उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताए।
सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।
सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरू विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेस गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे। “उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारसम्बन्धी घटनाको छानबिन गर्नुपर्छ”, उनले भने।
सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे। सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुन सम्मत नभएको बताए।
सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, निर्दोष उम्कनुहुन्न भनिन्।
सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्। सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन्। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक होस् त्यसका निम्ति आफूहरू तयार रहेको बताइन्।
सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। उनले सरकारले भुटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदारुकता देखाएकाप्रति धन्यवाद ज्ञापन गरे।
सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे।
सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढंगले उठाउन नसकेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
