भारतको केरलामा पर्यटक सवार डुंगा डुब्दा २१ जनाको मृत्यु

भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।

भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। 

मलप्पुरम जिल्लाको तुवलतिरममा ३० जना सवार सो डुंगा आइतबार साँझ ७ बजे पल्टिएको थियो। डुंगामा सवार अन्य नौ जना घाइते भएका छन्। 
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर भएको र मृतकमध्ये अधिकांश बालबालिका र महिला भएको केरलाका खेलमन्त्री बी अब्दुर्रहमानलाई उधृत गर्दै भारतीय समाचार माध्ममहरूले जनाएका छन्।

दुर्घटनाको यकिन कारण नखुले पनि क्षमताभन्दा बढी यात्रु राखेको र उनीहरूसँग आवश्यक लाइफ ज्याकेटसमेत नभएको बताइएको छ। केहीले डुंगामा ५० जना मानिस चढेको बताएका छन्। तर, यसको पुष्टि हुन सकेको छैन।

केही मानिस अझै फसिरहेको आशंकामा सोमबार पनि उद्धार जारी राखिएको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।