उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सामुद्रिक क्षेत्रमा पहिलो पटक क्षेप्यास्त्र प्रहार

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।

तस्वीर: एएफपी

उत्तर कोरियाले दक्षिण कोरियाको सीमा क्षेत्रमा छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी छ। प्योङयाङले दक्षिण कोरियाको पूर्वी क्षेत्रमा बुधबार कम्तिमा १० वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ छ। उत्तर कोरिया र दक्षिण कोरिया छुट्टिएपछि सामुद्रिक सीमाले छुट्टाएको क्षेत्रमा उत्तरले पहिलो पटक  क्षेप्यास्त्र प्रहार गरेको हो।



उत्तरले स्थानीय समयानुसार बुधबार बिहान ९ बजे क्षेप्यास्त्र आक्रमण गरेको दक्षिण कोरियाको भनाइ छ। त्यसलगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलले मन्त्रीपरिषद्को राष्ट्रिय सुरक्षा बैठक डाकेको बीबीसीले जनाएको छ। प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो। उत्तरले मंगलबार सैन्य अभ्यासविरूद्ध शक्तिशाली कदम चाल्ने चेतावनी दिएको थियो।



वुलुङदो टापुनजिकको सो स्थान उत्तर कोरियाको दक्षिणी तट र दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा पर्छ। क्षेप्यास्त्र प्रहारको घटनामा दक्षिण र जापानी दुवै अधिकारीहरूले रेकर्ड गरेको बीबीसीले उल्लेख गरेको छ।



सोलका संयुक्त सैन्य प्रमुखका अनुुसार उत्तरले विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेकोमा तीमध्ये एउटा क्षेप्यास्त्रले उत्तरी सीमा क्षेत्र नाघेको थियो। सो क्षेप्यास्त्र सामुद्रिक सीमाको २६ किलोमिटर दक्षिणतर्फ खसेको थियो। यस्तै,दक्षिण कोरियाली शहर सोक्चोदेखि ५७ किलोमिटर पूर्वमा पर्छ भने उत्तर पश्चिमी टापु वुलुङदोबाट १६७ किलोमिटर नजिक छ।