एमाले सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव एवं अर्चाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँको टोली उनको ललितपुरको सातदोबाटोस्थित घरमा पुगेर छापा मारेको हो।

परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले कानूनी प्रक्रियाअनुसार नै रायमाझीको घरमा खानतलासी गरिएको जानकारी दिए। “हाम्रो टोलीले घरमा खानतलासी गरिरहेको छ। यो कानूनी प्रक्रियाअन्तर्गत नै रहेको छ,” उनले भने।

गत बुधबार रायमाझीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यस दिन उनी अर्घाखाँचीमा कार्यक्रममा सहभागी थिए। पक्राउ पुर्जी जारी भइसकेपछि सहजीकरण गरेर आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने भनेका उनी त्यसै दिनदेखि सम्पर्कमा आएका छैनन्। 

सहजीकरण गर्ने भने पनि हालसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई फरार भन्दै खोजी कार्य तीव्र पारेको हो। उनलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र भएको छ भने भागेर भारत गएको आशंकामा प्रहरीले पक्राउ गर्नका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि परिचालित भएको छ।

यद्यपि, उनी अहिलेसम्म कहाँ छन् भन्ने पत्ता लाग्न सकेको छैन। प्रहरीले नक्कली भुटान शरणार्थी प्रकरणमा हालसम्म ८ जनालाई पक्राउ गरिसकेको छ। रायमाझीकै छोरा सन्दीप पनि यसै प्रकरणमा पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार अहिलेसम्म सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र सागर राई पक्राउ परिसकेका छन्।

यो पनि
नक्कली शरणार्थी प्रकरणको लहरो तान्ने त्यो उजुरी, अनुसन्धानको ‘राडार’मा पूर्वगृहमन्त्रीहरू पनि
गृहमन्त्रीलाई प्रश्न– शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ?