उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियासँगकाे सामुद्रिक क्षेत्रमा पहिलोपटक क्षेप्यास्त्र प्रहार

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।

तस्वीर: एफफी

उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमामा पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। प्योङयाङले दक्षिण कोरियाको पूर्वी क्षेत्रमा बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी छ। उत्तर कोरिया र दक्षिण कोरिया छुट्टिएपछि दुई देशलाई सामुद्रिक सीमाले छुट्टाएको स्थानमा उत्तरले पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो।

उत्तरले स्थानीय समयानुसार बुधबार बिहान ९ बजे क्षेप्यास्त्र आक्रमण गरेलगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलले मन्त्रीपरिषद्को राष्ट्रिय सुरक्षा बैठक डाकेको बीबीसीले जनाएको छ।

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो। उत्तरले मंगलबार सो सैन्य अभ्यासविरुद्ध शक्तिशाली कदम चाल्ने चेतावनी दिएको थियो।

वुलुङ्दो टापुनजिकको सो स्थान उत्तर कोरियाको दक्षिणी तट र दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र हो। क्षेप्यास्त्र प्रहारको घटनालाई दक्षिण र जापानी दुवै अधिकारीहरूले रेकर्ड गरेको बीबीसीले उल्लेख गरेको छ।

उत्तरले विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेकोमा तीमध्ये एउटा क्षेप्यास्त्रले उत्तरी सीमा क्षेत्रलाई नाघेको दक्षिणको भनाइ छ। सो क्षेप्यास्त्र सामुद्रिक सीमाको २६ किलोमिटर दक्षिणमा प्रहार भएको बताइएको छ। क्षेप्यास्त्र प्रहार भएको क्षेत्र दक्षिण कोरियाली शहर सोक्चोदेखि ५७ किलोमिटर पूर्व र उत्तर पश्चिमी टापु वुलुङदोबाट १६७ किलोमिटर नजिक पर्छ।