नक्कली शरणार्थी प्रकरण: 'फेक अडियो' बनाइएको भन्दै आरजुले दिइन् साइबर ब्यूराेमा उजुरी

आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेर बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

उनले दोषीलाई कारबाही गर्न माग गर्दै साइबर ब्युरोमा उजुरी दिएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदेश्यले बनाइएको उजुरीमा आरजुले उल्लेख गरेकी छन्।

"विभिन्न सञ्चार माध्यामहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु," आरजुले दर्ता गरेको निवेदनमा भनिएको छ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार नै पक्राउ गरेको छ। खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अन्य केहीले बयानमा तत्कालीन गृहमन्त्री खाँण, उनकी पत्नी मञ्जु र आरजुलगायतको नाम मुछेको प्रहरी स्रोतले बताएको छ।