ए डिभिजन लिग : आर्मीविरुद्ध एपीएफको 'क्लिन सिट', मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।

काठमाडौँ- विभागीय डर्बीमा त्रिभुवन आर्मीविरुद्ध 'क्लिन सिट' राख्दै एपीएफ क्लब शहिद स्मारक 'ए' डिभिजन लिगको अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार सम्पन्न खेलमा आर्मीमाथि एपीएफले ३-० गोलअन्तरको जित हासिल गरेको हो।

एपीएफको जितमा अर्मान्ड बिडोम, आवास लामिछाने र नवीन लामाले १/१ गोल गरे। खेलको ४२औँ मिनेटमा चाडका मिडफिल्डर अर्मान्डले गोल गर्दै एपीएफलाई शुरूआती अग्रता दिलाएका थिए।

मिडफिल्डबाट आएको बलमा रन लिँदै उनले आर्मीका गोलरक्षक विकेश कुथुलाई चिप गरेका थिए। त्यसपछि प्रहार गरेको बललाई आर्मीका डिफेन्डर युद्ध शाही र दीपक गुरूङले गोल लाइनबाट बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन। पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा दुई गोल थपेको थियो।

५६औँ मिनेटमा आवासले टोलीको लागि दोस्रो गोल गरे। डि-बक्सभित्रबाट कप्तान नवीन लामाले गरेको प्रहारलाई आर्मीका डिफेन्डरहरूले रोकेका थिए। तर, रिबाउन्ड हुँदै पुगेको बललाई आवासले गोलमा परिणत गरे।

६२औँ मिनेटमा नवीन लामाले टोलीको लागि तेस्रो गोल गरे। अर्मान्ड बिडोमले डिबक्स बाहिरबाट दिएको बललाई नवीनले गोलमा परिणत गरेका थिए। 'म्यान अफ दी म्याच' नवीन घोषित भए।

पहिलो लेगमा एपीएफले आर्मीमाथि १-० गोलअन्तरको जित हात पारेको थियो। एपीएफको जितमा मणिकुमार लामाको गोल निर्णायक बनेको थियो।

जितसँगै एपीएफले १६ खेलमा ६ जित, ४ बराबरी र ६ हारको नतिजा निकाल्दै २२ अंक जोडेको छ। यता, समान खेल खेलेको आर्मी ५ जित, ६ बराबरी र ५ हारसहित २१ अंक बनाएर सातौँ स्थानमा झरेको छ।

चर्च ब्वाइज शीर्ष स्थानमा
साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार नै सम्पन्न खेलमा चर्च ब्वाइजले मछिन्द्रलाई २-१ गोलअन्तरले पराजित गरेको हो। 

चर्च ब्वाइजको जितमा उसका स्टार फरवार्ड अन्जन विष्टले एक गोल गरे। अर्को गोल भने उपहार पाएको थियो। यता, मछिन्द्रका ओमोलाजा नुरेन करिमले एक गोल गरे।

अन्जनले खेलको ४०औँ मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई शुरूआती अग्रता दिलाए। जारी लिगमा अन्जनको यो पाँचौँ गोल हो। कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत् गोलमा परिणत गरे।

६६औँ मछिन्द्र खेलमा फर्कियो। आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटेले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा करिबले गोल गरे।

७१औँ मिनेटमा मछिन्द्रका प्रदीप भण्डारीले आत्मघाती गोल गरे। कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले बल समाएका थिए। तर, उनले आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भयो।

जितसँगै चर्च ब्वाइजले १६ खेलबाट ३० अंक जोडेको छ। शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजले ८ जित, ६ बराबरी र २ हारको नतिजा बेहोरेको छ। पराजित मछिन्द्रले आफ्नो स्थान सुधार गर्ने मौका गुमाएको छ।

मछिन्द्रले समान खेलमा ६ जित, ६ बराबरी र ४ हारको नतिजा बेहोरेको छ। अंक तालिकाको चौथो स्थानमा रहेको मछिन्द्रको २४ अंक छ।