एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, मिसन ग्रासरुटलगायत १० विषयमा छलफल हुने

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक आज शुरू हुँदैछ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको  हो। बैठक वैशाख ३० गतेसम्म चल्ने रिजालको भनाइ छ।

बैठकमा केन्द्रीय कमिटीका ३३५ (दुई निलम्बित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष (दुई गैर भौगोलिक) सहभागी हुनेछन्।