भ्रष्टाचारमा जोसुकैको नाम जोडियोस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

सरकारले नक्कली भुटानी शरणार्थीबारे छानबिन अघि बढाएकामा खुशी लागेको तर, प्रधानमन्त्रीले भनेजस्तो फिल्म अझै नदेखिएको अध्यक्ष ओलीले बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता पनि दोषी भए कारबाही हुनुपर्ने बताएका छन्।

बिहीबार केन्द्रीय कमिटी बैठकको शुरूआत गर्दै ओलीले अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने र आरोप लगाउने काम भने हुन नहुने बताए। प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भए एमाले चुप लागेर नबस्ने ओलीको भनाइ थियो।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रै साथीहरूको नाम पनि परेको छ। यसमा हामी प्रस्ट हुनु जरुरी छ,  भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने उसलाई कारबाही हुनुपर्छ,” ओलीले भने, “तर, जबसम्म मान्छे दोषी ठहर हुँदैन, त्यति बेलासम्म आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन।” राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही संलग्न भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने ओलीले बताएका छन्। 

यस्तै बैठक शुरू हुनुअघि पत्रकारसँग कुरा गर्दै ओलीले सरकारले अहिले नक्कली भुटानी शरणार्थीबारे छानबिन अघि बढाएकामा खुशी लागेको बताए। तर प्रधानमन्त्रीले भनेजस्तो फिल्म अझै नदेखिएको उनले बताए।