संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

७८ वर्षीय बस्नेतको शुक्रबार बिहान काठमाडौँको सिफलस्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए।

काठमाडौँ– संविधानसभा सदस्य तथा कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ।

७८ वर्षीय बस्नेतको शुक्रबार बिहान काठमाडौँको सिफलस्थित निवासमा निधन भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। बस्नेत लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए।

उनको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सिवाकोटीले बताए। २०१५ सालदेखि नै कांग्रेसमा सक्रिय रहेर राजनीति गरेका बस्नेत लेखक पनि हुन्। उनका ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप' भाग १ र २ पुस्तक प्रकाशित छन्।

बस्नेत कांग्रेस सोलुखुम्बुको पूर्वसभापति पनि हुन्। उनी २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्रको कार्यकारी अध्यक्षसमेत भएका थिए।