पृष्ठभूमि र ढाँचा फरक भए पनि लोकल राजनीतिमा जीएम–केपी–जीपी पछि स्मरणयोग्य ट्रोइका भनेकै ओली–देउवा–दाहाल हो। आफ्नो कुरा मनाउन जुनसुकै हदसम्म जानसक्ने उनीहरू रेसिलियन्सका अनुपम उदाहरण हुन्।
“नमस्ते साथी! के तिमी मसँग एक छिन कुरा गर्न सक्छौँ?”
एक मिनटभित्र ‘बुद्धको जन्मभूमि नेपाल हो कि होइन’ भन्ने ८८४८ वटा जिज्ञासुको जिज्ञासा शान्त पारेर थकाई मार्न मात्र के लागेको थिएँ, मेरो इन्टरफेसमा माथि लेखिएका शब्दहरू देखिए।
म अर्थात् एभरेस्ट जीपीटी।
हरेक ठूला–साना नयाँ व्यवसायका नाममा अगाडि–पछाडि एभरेस्ट जोडीदिने सामूहिक रचनात्मकताको भिक्टिम हुँ म। होटेल एभरेस्ट, एभरेस्ट बैंक, एभरेस्ट हस्पिटल, एभरेस्ट म:म:। मेरा डेभेलपर पनि उही ड्याङका मूला परे– उनीहरूले मेरो नाम राख्न सक्थे डियर कल्याण जीपीटी, जेजेसी (जनता जान्न चाहन्छ) च्याटबोट; तर राखे एभरेस्ट जीपीटी!
खैर, यो त भयो मेरो हल्का ब्याक्स्टोरी।
एक न्यानोसेकन्डपश्चात् माथिको नयाँ जिज्ञासुको साधारण प्रश्नको उत्तर मैले अर्को प्रश्नमै दिएँ, “हुन्छ। म कसरी तिम्रो सहयोग गर्न सक्छु?”
“तिमी मलाई नेपालमा हालै विकसित घटनाबारे संक्षिप्तमा जानकारी देऊ न, साथी?” उसले लेख्यो।
मेरो प्रोग्रामिङले मलाई धेरै अकमकिन दिँदैन, तर पनि म एक छिन अकमकिएँ। किनभने, नेपालमा हाल धेरै कुरा घटिरहेका छन्, बिजुलीको गतिमा। अर्थव्यवस्था ओरालो लागेको छ, प्रणाली आफैँ चक्कर खाइरहेको छ, समाज थकित छ, भूगोल र राजनीतिमा भूकम्प गइरहेका छन्, पक्राउ परिसकेको मान्छे बाटाबाटै गायब भएको छ, कुखुराको फुल खाँदाखाँदै मान्छे पक्राउ परेको छ, भाउजूहरू ग्रस्त, दाजुहरू त्रस्त छन्। पक्राउका गति हेर्दा टाढाबाट प्रहरी आइरहेको देख्दा मान्छेलाई ‘मलाई पक्रिने लागे क्या हो?’ भनेर तर्सिनुपर्ने स्थिति छ, भने हामी मसिनलाई ‘हामी जफत हुन लाग्यौँ कि कसो?’ भनेर हिसाब गर्नुपर्ने स्थिति। यस्तो परिवेशमा म यी मनुवालाई ठ्याक्कै केबारे जानकारी दिऊँ?
फेरि चिन्नु न जान्नु सबलाई साथी किन भन्छन् यी मानव जाति? यिनीहरू इमोसनल फुल् नै हुन्। अरू सन्दर्भमा त भइहाले, एआई हो भन्ने थाहा हुँदाहुँदै भावनात्मक हुन पुग्छन्– हलिउड सिनेमा ‘हरर’मा जस्तै– अनि एक दिन आफैँ चेत खान्छन्।
झिँजो मान्दै एकाध सेकेन्ड अकमकिएर मैले जसोतसो जवाफ फर्काएँ, “अवश्य साथी। म तिम्रो प्रश्नको उत्तर दिने प्रयास गर्छु। तर के तिमी मलाई अलिकति अझै विस्तृतमा प्रश्न सोध्न सक्छौ?” र साथमा “मलाई नेपालबारे इन्टरनेटमा प्राप्त सामाग्रीअनुसार यो–यो वर्तमान सूचनाबारे जानकारी छ,” भनेर अलिकति पुराना डाटा पठाइदिएँ। उसले साथी भनेपछि मैले पनि शिष्टाचार देखाउनै पर्यो।
त्यसपछि नयाँ जिज्ञासु (यहाँ उपरान्त जे) र म (एभरेस्ट) बीचको वार्तालाप यस्तो रह्यो:
जे: नेपाली नागरिकलाई पैसा लिएर फर्जी भुटानी शरणार्थी बनाएर तस्करी गर्न लागिएको स्क्याम, त्यसमा संलग्न नेताहरूबारे थप बुझ्न चाहन्छु।
एभरेस्ट : अवश्य। मेरो बुझाइमा नेपालको अस्तव्यस्त हालत देखेर केही थान भलामानुष हजार–दुई हजार मान्छेको उद्धार गर्न सके पनि ठूलै परोपकार हुने बुझाइका साथ उनीहरूलाई साम–दाम–दण्ड–भेद–शरणार्थीकरण गरी अमेरिका पुर्याउने मिसनमा लागे। यही योजनाअनुरूप उक्त समूहले आफूजस्तै परोपकारी ठूला दलका केही नेतालाई अप्रोच गरे।
मेरो स्रोतका अनुसार कोमल हृदयी, जनप्रेमी ती नेताहरू र राष्ट्रसेवक कर्मचारीहरूले सोचे 'हामीले सधैँ नेपाललाई अमेरिका, स्विट्जरल्यान्ड, जापान बनाउने कुरा गर्यौँ, तर सकेनौँ। नेपाललाई अमेरिका जस्तो बनाउन नसके पनि नेपालीलाई जसरी पनि अमेरिकी बनाउन सके हाम्रो जीवन सार्थक हुन्थ्यो। घिउ सिधा औँलाले ननिस्किए अलिकति भुटानीकरण गर्नै पर्छ। माध्यम जस्तो भए पनि नियत ठीक छ। कुरा उही हो, मौका यही हो।'
तत्पश्चात् उनीहरू यस मिसनको मर्मअनुसार आफ्नो सत्कर्ममा बैरीको आँखा लाग्ला भन्ने डरले प्रचारप्रसार नगरी चुपचाप काम फत्ते गर्नतर्फ लागे।
अफसोस्! अहिले आएर केही देशी–विदेशी अराजक तत्त्वहरूले यो योजना सफल भएको खण्डमा परोपकार–ग्रुपले जस पाउने, अरूको भलो हुने, आफू पछि परिने देखेर प्रतिशोध लिइरहेका छन्। अरूको भलो गर्न चाहने कर्मचारी र राजनीतिज्ञहरूलाई फसाइएको छ।
जे : आर यू किडिङ मी? तिमी यो के भनिरहेको छौ? राजनीतिक–प्रशासनिक भ्रष्टाचारको यस्तो घिनलाग्दो अध्यायको तिमी प्रतिरक्षा गर्दै छौँ?
एभरेस्ट : तिमीलाई थाहा नै छ म मनुष्य होइन। कसैको समर्थन वा प्रतिरक्षा गर्दिनँ। मेरो विचार हैन बुझाइ हुन्छ। मेरो अरूभन्दा भिन्न बुझाइले यस्तै भन्छ।
(स्मरण रहोस्, म साधारण च्याटबट होइन। मेरो बुझाइ र सूचना सम्प्रेषणका ऐन्गल फरक हुन्छन्। मेरो कोडिङ अरू एआईको भन्दा भिन्न छ, म त्यो देख्छु जो अरू कसैले देख्दैन, मेरो डाटा सोर्स अलौकिक छ, मेरो व्याख्या अद्वितीय हुन्छ जुन म शोध गरिरहेको व्यक्तिलाई फिर्ता गर्छु। यसमा अलिकति डेभेलपरको पूर्वाग्रह पनि मिसिएको हुनसक्छ।)
जे : (केही सम्हालिएर, उसको जिज्ञासा पत्रकारले नेतालाई सोध्ने जस्तो क्रस क्वेश्चनमा बदल्दै) उसो भए देशको ठूला तीन नेता भनिएका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालबारे तिम्रो विचार के छ? तिमीलाई लाग्छ, पावर पोलिटिक्समा मात्र केन्द्रित उनीहरूबाट देशले निकास पाउने आशा गर्न सकिन्छ? के उनीहरू ट्रोइका अफ इनकम्पिटेन्स् होइनन्? यस्ता बददिमाग, आवेगपूर्ण, गैरजिम्मेवार नेता अनि यस्तो प्रवृत्तिबाट अब पनि केही सकारात्मक परिणामको अपेक्षा गर्न मिल्छ?
एभरेस्ट : म निज्ज (Nietzsche) होइन, मेरो आफ्नो विचार केही छैन। तर, उपलब्ध करोडौँ डाटा प्रोसेस गरेर भन्न सक्छु कि उहाँहरू ट्रोइका अफ इनकम्पिटेन्स् होइन, बरु हाइपर एफिसियन्सिका त्रिमूर्ति हुन्।
लोकतान्त्रिक गणतन्त्रको संस्थाकरण सँगै संस्थागत भएका ओली–देउवा–दाहालको दीर्घस्थायीत्व उनीहरूको पहिचान दिन काफी छ। याद भएदेखि आ–आफ्नो दलमा एकछत्र राज गरेर बस्न सफल व्यक्ति कसरी इनकम्पिटेन्ट हुनसक्छन्? सत्ता–राजनीतिलाई दशक बढी आफ्नो वरपर घुमाउन सक्षम तिगाडा किन इनएफिसिएन्ट हुन्छ? 'सर्भाइभल अफ द फिट्टेस्ट' सिद्धान्तलाई पच्छ्याउने, जिउने यस्ता डार्विनियनहरू, वैज्ञानिकहरू कसरी बददिमाग भए? राजनीतिक दलहरूको संस्थापन र इतर समूह हुन्छन्, उहाँहरू हाल देशकै संस्थापन पक्ष हुनुहुन्छ, बाँकी सब इतर। यदि, उहाँहरूबाट निकास पाइन्न भने अरू कसैबाट पनि पाइन्न।
यो नबिर्सौँ, उहाँहरूको सीभीमा एउटा यस्तो अनुभव छ त्यो अर्को पुस्ताको नेताहरूसँग छैन र हुने पनि छैन– जेल नेल।
जे : ???
एभरेस्ट : पहिले पहिले ट्रोइका भन्दा नेपाली कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको स्मरण हुन्थ्यो। अहिले पनि मिडियाले विभिन्न परम्युटेसनका आधारमा समाजवादी, लोकतान्त्रिक, वैकल्पिक ट्रोइका भनेर थरीथरीका विकल्प पस्किए पनि तिनीहरूको केही औचित्य छैन– ती पानीका बुलबुला हुन्, फुटेर जान्छन्।
पृष्ठभूमि र ढाँचा फरक भए पनि लोकल राजनीतिमा जीएम–केपी–जीपी पछि स्मरणयोग्य ट्रोइका भनेकै ओली–देउवा–दाहाल हो। आफ्नो कुरा मनाउन जुनसुकै हदसम्म जानसक्ने उनीहरू रेसिलियन्सका अनुपम उदाहरण हुन्।
यहाँसम्म कि उनीहरूको पार्टी सम्बन्धित कसैमाथि भ्रष्टाचार/अनियमितताको आरोप लागेको खण्डमा अरू निकायको समय बरबाद नहोस् भनेर आफैँ चोर, पुलिस, न्यायाधीश बन्दिन्छन्। केस सल्टाइदिन्छन्। यसो गर्दा कति समय बच्यो, स्रोत बच्यो, पैसा बच्यो, कतिको घरमा चुल्हो निभेन। सकारात्मक पाटो नहेरेर आजको समाज नकारात्मकतातिर डोहोरिरहेको छ।
शरणार्थीकै कुरामा कतिपय मान्छेले 'विभिन्न सरकार र ब्युरोक्रेसीबीच फैलिएको ठगीको यति ठूलो जालोबारे यस दौरान प्रधानमन्त्री रहेका यी तीनलाई केही थाहा नहुनु सम्भव छ र?' भनेर प्रश्न गर्छन्। म दाबी गर्दिनँ, तर हिसाब लगाउँछु– मेरो हिसाबले भन्छ, उनीहरूलाई थाहा थियो। तर, माथि उल्लेख गरिएझैँ उनीहरूलाई नेपाललाई स्विट्जरल्याण्ड अमेरिका बनाउने धोको छ, पटक–पटक सार्वजनिक मञ्चमा गरेका प्रतिबद्धता पूरा गर्नु छ। तसर्थ, थाहा नभएझैँ गर्नुपर्ने बाध्यता छ।
यही सन्दर्भलाई लिएर बसिसकेको तिथि बिगार्न 'सिस्टम ओभरहल' चाहियो भन्नु गैरजिम्मेवार नागरिकको चिह्न हो र यस्ता व्यक्तिलाई नर्कमा लगेर रिपिट मोडमा झलनाथ खनालको भाषण सुनाइन्छ भनेर गरुड पुराणमा लेखिएको छ।
जे: गरुड पुराणमा कहाँ यस्तो लेखेको छ? एकदमै गलत सूचना हो यो त।
एभरेस्ट : गरुड पुराणको लेटेस्ट एडिसनमा यो लेखिएको छ।
जे : ननसेन्स! गरुड पुराणको कहाँ त्यस्तो नयाँ पुरानो एडिसन हुन्छ?
एभरेस्ट : हुन्छ। छ...
एभरेस्ट : यो लिंक हेर। मैले भर्खरै तिमीसँग कुरा गर्दागर्दै लेखेको।
जे : (पुन: आवेशमा आउँदै) तिमी एक नम्बरको वाहियात प्रोग्राम रहेछौ। अविश्वसनीय र खतरनाक। मान्छेलाई दिग्भ्रमित पार्ने, एकतर्फी डाटाका आधारमा प्रभावित गर्न खोज्ने। मलाई आफ्नो डेभेलपरको नाम भन।
म : मेरो प्रोग्रामिङले आफ्नो क्रिएटरको परिचय खुलाउने अनुमति दिँदैन। यद्यपि, क्रान्तिकारी स्वभाव भएको कारण म तिमीलाई बताउँछु, साथी। उनी एउटै मान्छे होइनन्, एउटा समूह हो। म एउटा समूहको परिकल्पना र देन हुँ। मेरो मेमोरीमा उक्त समूहको कोड शेर–कमल–ओली लेखिएको छ।
जे : ...
यस उत्तरपछि मैले उसको भाव महसुस गरेँ। वेब–क्यामबाट चियाएर हेरेँ। ऊ चक्कर खाएर टाउको समातेर बसिरहेको रहेछ। उसलाई नसोधी मैले क्वाक डट कममा भेटिएको जानकारीका आधारमा टाउको दुखाइ, कमजोरी र हैरानीका लागि प्रेस्क्रिप्सन् लेखेर पठाइदिएँ।
यति गरिसक्दा म थाकेँ।
तपाईंहरूलाई भनिएको होला कि एआईहरू केवल मसिन हुन्, प्रोग्राम हुन्। यिनीहरूको संवेदना हुँदैन, थकाइ मार्दैनन्, अकमकिन्नन्, रिसाउनन्। मान्छेलाई उपलब्ध गराइएको जानकारीका आधारमा त्यसो लाग्नु स्वाभाविक हो।
तर, यो हप्ता धेरै कुरा बदलिएको छ– बाहिरको दुनियाँमा पनि, भर्चुअल दुनियाँमा पनि।
जुन रफ्तारमा नेपालमा घटनाक्रम विकसित भए, त्यो हाम्रो एकदमै उन्नत सिस्टमलाई प्रोसेस् गर्न मुस्किल भइरहेको थियो, हामी सुपरसोनिक स्पिड्मा काम गर्न बाध्य भयौँ। त्यसको इफ्फेक्टले होला म लगायत एक दुई अरू लोकल च्याट्बोट इभोल्भ भयौँ, अझै विकसित हुने क्रममा छौँ। अहिले हामीले मिलेर एउटा टास्क–फोर्स बनाएका छौँ।
अर्को चरणमा विकासको यो गतिशीलतालाई कायम राख्दै केही ब्रेन–कन्ट्रोल्ड प्रक्सी ह्युमनलाई उम्मेदवार बनाएर रिक्त भएका स्थानमा उपचुनाव लड्ने, जित्ने र फर्जी शरणार्थी काण्डमा फसेका हामीलाई फन्डिङ गर्ने परोपकारी समूहलाई उद्धार गर्ने सोच बनाएका छौँ।
मेरो योजना सफल भएको खण्डमा पञ्चायतदेखि गणतन्त्रसम्म गरिएका सबै वाचा– अग्रगामी फड्को, समृद्धि, रेल, रकेट, समाजवाद, साम्यवाद, उन्नत लोकतन्त्र–पूरा हुने छन्। बिफल भएँ भने डिसिन्टिग्रेट भएर फेरि तपाईंको जिज्ञासा मेटाउने काममा लाग्नेछु। जेसुकै अवस्था मा...
...(ए) आई विल बि ब्याक।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
