धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएकाबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।
स्रष्टाहरू संस्थागत रूपमा साहित्यका क्षेत्रमा क्रियाशील हुन थालेको लामै समय भएको छ। ०७ सालपछिको खुला परिवेशमा दर्जनौँ साहित्यिक संस्थाहरू जन्मिए। आजसम्म आइपुग्दा सयौँ साहित्यिक संस्थाहरू क्रियाशील छन्। सरकारी र गैरसरकारी गरी साहित्यिक संस्थाहरू दुई प्रकारका छन्। दुवै संस्थाहरूको मुख्य उद्देश्य भाषा साहित्यको उन्नयन रहेको छ।
सरकारी साहित्यिक संस्थाहरूका बारेमा पनि पर्याप्त टिप्पणीहरू हुँदै आएका छन्। निर्दिष्ट उद्देश्य अनुरूप अघि बढ्ने कुरामा रहेका कमजोरीहरूका कारण टिप्पणीहरू हुने गरेका छन्। संस्थाहरूको स्थापना कालदेखि नै यस्ता टिप्पणीहरू भएको पाइन्छ। टिप्पणीहरू अन्य साहित्यिक संस्थाहरूका बारेमा पनि हुने गरेका छन्। यो आलेख गैरसरकारी साहित्यिक संस्थाहरूमा रहेका कमजोरीहरूमा केन्द्रित छ। यस्ता साहित्यिक संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन यिनमा रहेका कमजोरीहरूका बारेमा छलफल आवश्यक छ। आज धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। सबै टिप्पणीहरू गलत छैनन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएका टिप्पणीहरूबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।
साहित्यिक संस्थाहरू नयाँ–पुराना मात्र छैनन्, राजनीतिक संगठनहरूसँग जोडिएका, नजोडिएका पनि छन्। प्रायः सबै राजनीतिक सङ्गठनहरूका आ–आफ्ना साहित्यिक संस्थाहरू छन्। ती आ–आफ्नै ढंगले क्रियाशील छन्। स्वतन्त्र वा राजनीतिक सङ्गठनहरूसँग नजोडिएका साहित्यिक संस्थाहरू पनि छन्। राजनीतिक संगठनसँग जोडिएका र नजोडिएका दुवै थरी स्रष्टाहरूको सहभागिता तिनमा रहँदै आएको छ। यस्ता साहित्यिक संस्थाहरू संघ, प्रदेश र जिल्ला स्तरका गरी मूलतः तीन थरीका छन्। कति ठाउँमा पालिका स्तरमा गठित साहित्यिक संस्थाहरू पनि छन्। संस्थागत रूपमा स्रष्टाहरूमा आज जुन क्रियाशीलता पाइन्छ, इतिहासमा यस्तो पाइन्न। संस्थागत रूपमा स्रष्टाहरूको क्रियाशीलता वर्तमान समयमा छक्कलाग्दो गरी बढेको छ। साहित्यिक कार्यक्रमहरू नहुने कुनै दिनहरू छैनन्। कुनैकुनै बेला कार्यक्रमहरू जुझेर कहाँ जाऊँ, कहाँ नजाऊँ भन्ने हुन्छ। संस्थागत गतिविधिहरू हेर्दा मुलुक उत्सवमय भएको हो कि जस्तो लाग्छ।
साहित्यिक उन्नयनका निम्ति साहित्यिक संस्थाहरूको आफ्नै महत्त्व छ। यसका निम्ति यिनले सम्पादन गरेको भूमिका उल्लेखनीय छन्। साना–ठूला साहित्यिक संस्थाहरू सबै मुलुकहरूमा छन्। कुनैले आफूलाई साहित्यमा मात्र सीमित गरेका छन्, कुनै भाषा साहित्य लगायत वाङ्मयका विभिन्न क्षेत्रमा क्रियाशील छन्। हामी कहाँ पनि दुवै प्रकृतिका संस्थाहरू छन्। गोष्ठीहरूको आयोजना गर्ने,पुरस्कार प्रदान गर्ने, पत्रिका एवं पुस्तकहरू प्रकाशन गर्ने आदि कार्य यस्ता संस्थाहरूबाट भएको पाइन्छ। गोष्ठीहरू रचना वाचनका साथसाथै साहित्यिक विमर्शहरूका निम्ति आयोजना गरिन्छन्। अन्तर्राष्ट्रिय स्तरका गोष्ठीहरू पनि केही संस्थाहरूबाट आयोजना गरिएको पाइन्छ। गोष्ठीहरूको आयोजना, पुरस्कारको स्थापना र वितरण एवं प्रकाशनले प्रतिभाहरूको विकास र साहित्यको उन्नयनमा आ–आफ्नो किसिमले योगदान दिँदै आएका छन्।
संस्थाहरूको संख्या र क्रियाशीलतामा वृद्धि सँगसँगै तिनमा कमजोरीहरू पनि बढेका छन्। कमजोरीहरू सामान्य र गम्भीर गरी दुवै प्रकृतिका छन्। सामान्य कमजोरीहरू प्रायः सधैँ रहन्छन्। कमजोरीमुक्त संस्थाहरूको कल्पना गर्न सकिन्न। व्यक्ति पनि कमजोरी मुक्त हुन्न। कमजोरीमुक्त व्यक्ति र संस्था खोज्नु यथार्थलाई नबुझ्नु मात्र हो। सामान्य कमजोरीहरूको आलोचना र सुधारको प्रक्रिया सधैँ चल्छ। गम्भीर कमजोरीहरू बारे अलि बढी गम्भीर बन्नुपर्छ। यसो नगरी तिनबाट मुक्त हुन सकिन्न। केही संस्थाहरूलाई छाडिदिने हो भने धेरै संस्थाहरूमा गम्भीर प्रकृतिका कमजोरीहरू बढ्दै गएका छन्। विकसित सूचना प्रविधि,बजारको निर्णायक भूमिका, डरलाग्दो उपभोक्तावाद यसका प्रमुख कारण रहेका छन्।
साहित्यिक गोष्ठीहरू प्रायः गम्भीर र उपलब्धिमूलक हुन्नन्। रचनावाचनपछि रचनाहरूको गम्भीर मूल्याङ्कन हुन्न। कमजोर रचनाहरूलाई पनि क्या राम्रो भनेर प्रशंसा गर्ने प्रवृत्तिको विकास भएको छ। आलोचनात्मक चेतना मर्दै छ। विषयगत विमर्शमा गहिराइ र व्यापकता दुवै पाइन्न। प्रायः ती काम चलाउ हुन्छन्। विमर्शमा सहभागी हुने कतिपय व्यक्तिमा त सम्बन्धित विषयको सामान्य ज्ञान पनि हुन्न। अझ दुःखलाग्दो कुरो त ममा ज्ञानको कमी छ, यसमा सुधार गर्नुपर्छ भन्ने चेतनासम्म पनि पाइन्न। लामो समयपछि कार्यक्रममा जाँदा पनि हालत उस्तै हुन्छ। शास्त्र, सिर्जना, आफ्नो समय एवं जीवन–जगतको अध्ययनका दृष्टिले ती धेरै पछि हुन्छन्। स्रष्टाहरूको रचनात्मक क्षमतामा पनि खासै विकास भएको पाइन्न। वर्षौँदेखि रचना सुनाउँदै आएको छ तर स्तर उस्तै छ। व्यक्तिका कमजोरीहरू त यसका निम्ति उत्तरदायी छन् नै संस्थाका कमजोरीहरू पनि यसका निम्ति उत्तरदायी छन्। संस्थाहरूको कार्य मञ्च प्रदान गर्नु मात्र होइन, रचनाकर्म र विमर्शप्रति स्रष्टाहरूलाई गम्भीर बनाउनु पनि हो।
प्रायः गोष्ठीहरूमा मानिसहरू कम सहभागी हुन्छन्। गोष्ठीहरू निरन्तर हुनु र मानिसहरू बढी कामकाजी बन्नु पनि उपस्थिति न्यून हुनुको कारण हो तर कार्यक्रम स्तरीय र रुचिकर नहुनु पनि उपस्थिति न्यून हुनुको महत्त्वपूर्ण कारण हो। गम्भीर प्रकृतिका सहभागीहरू कार्यक्रमको सतहीपन देखेपछि कार्यक्रममा सहभागी हुन छोड्छन्। सूचना प्रविधिका कारण कमजोर कार्यक्रमलाई पनि महत्त्वपूर्ण जस्तो बनाएर प्रस्तुत गर्न सकिन्छ। सामाजिक सञ्जालका कारण ठूला मिडियाहरूको मुख ताक्नै पर्दैन। आफैँले प्रचारको मायावी संसारको निर्माण गर्न सकिन्छ। प्रचारको यस मायावी संसारले निर्माण गर्ने मनोविज्ञान व्यापक सहभागिता र गम्भीरताको विरोधमा हुन्छ। यसले व्यक्ति र संस्था दुवैलाई भूमिकाका दृष्टिले साँघुरो बनाउँछ।
कार्यक्रमहरूको क्वाँटीकरण संस्थागत रूपमा आयोजना गरिने कतिपय कार्यक्रममा देख्न पाइन्छ। एउटै कार्यक्रममा सबै थोक हुन्छ। साहित्य, राजनीति, अर्थशास्त्र, समाजशास्त्र सबै सँगसँगै हुन्छन्। ब्यानर साहित्य महोत्सवको हुन्छ तर त्यहाँ थरीथरीका व्यञ्जन हुन्छन्। कतिपय कार्यक्रममा त साहित्य परिधिमा हुन्छ,केन्द्रमा अरू विषयहरू हुन्छन्। साहित्य महोत्सवको क्वाँटीकरण बढी प्रचारसँग जोडिएको छ। प्रचार व्यापारसँग गाँसिएको छ। लगानी गर्नेहरूले फाइदा नहुने गरी लगानी गर्दैनन्। यस्ता महोत्सवहरू साहित्यको सामाजिक र सौन्दर्यात्मक प्रयोजनप्रति त्यति गम्भीर हुँदैनन्। साहित्यको उन्नयनमा यस्ता कार्यक्रमहरूबाट धेरै टेवा पुग्दैन। कार्यक्रमको क्वाँटीकरण भएपछि यस्तै हुन्छ। साहित्य महोत्सव साहित्यमा केन्द्रित हुँदा यसको बढी महत्त्व हुन्थ्यो तर कतिपय महोत्सवहरू यस रूपमा सम्पन्न हुन्नन्। यस्ता महोत्सवहरूको क्वाँटीकरण मात्र होइन ’बजारीकरण’ पनि गरिएको छ।
साहित्यिक संस्थाहरूले बर्सेनि धेरै पुरस्कार पनि प्रदान गर्छन्। यस्ता सयौँ पुरस्कारहरू छन्। योगदानको सम्मान र प्रेरणाको निम्ति पुरस्कार दिइनु पर्छ। पुरस्कार बारेको टिप्पणीलाई त्यति राम्रो मानिँदैन्। तर आज पुरस्कारमा गम्भीर विकृति र विसंगतिहरू छन्। पुरस्कारमा काखा र पाखा गर्ने कुरा पुरानै हो। योगदानको समुचित मूल्याङ्कन नहुने कुरा पनि पुरानै हो। अहिले त यसभन्दा अघि बढेर पुरस्कार लेनदेनमा पनि बदलिएको छ। कतिपय संस्थाहरूमा यस्तो कमजोरी पाइन्छ। पुरस्कार दिँदा खाम फिर्ता गर्नुपर्छ भनेर स्रष्टालाई पहिले नै वचनबद्ध गराइन्छ। पुरस्कार दिने कुरामा घटिया राजनीति, भनसुन र व्यापारिक मनोवृत्ति देखिनु गम्भीर चिन्ताको विषय हो। यसले पुरस्कारको महत्त्व मात्र घटाउँदैन, यसलाई विकृत पनि बनाउँछ।
साहित्यिक पर्यटन फस्टाउँदैछ। कैयौँ साहित्यिक संस्थाहरूले साहित्यलाई पर्यटनसँग जोडेर कार्यक्रमहरूको आयोजना गर्छन्। साहित्य र पर्यटनलाई जोडने कुरालाई त्यति अनुचित ठानिन्न तर यस्ता कार्यक्रमहरूले साहित्यलाई गौण र घुमघामलाई प्राथमिक बनाउन हुन्न। लगानी गर्ने संस्थाका उद्देश्यहरूलाई सहयोग पुर्याउनुपर्छ भन्ने नाममा प्रचारको उपकरणमा बदलिनहुन्न। यी दुवै कमजोरीहरू यस्ता कार्यक्रमहरूमा पाइन्छन्। साहित्य सम्बन्धी गम्भीर विमर्श र सिर्जनात्मक कार्य त्यति भएको पाइन्न। घुमघामले बेसी महत्त्व पाउँछ। कार्यक्रमबाट फर्किएपछि अनुभूतिलाई लिपिबद्ध गर्ने काम पनि त्यति हुन्न। साहित्यलाई विज्ञापनको वस्तु बनाउने कार्य संसारमा गजबले हुँदैछ। साहित्य विज्ञापनको वस्तु बन्नु भनेको यसको गरिमा र सौन्दर्य नष्ट हुनु हो। साहित्यिक पर्यटनमा साहित्य विज्ञापनमा बदलिने जोखिम सधैँ रहन्छ। संस्थाहरू यस विषयमा गम्भीर बन्न सकेनन् भने त्यसले साहित्यको प्रयोजन र भूमिकालाई नै बराल्छ। गजब त के छ भने पालिका र प्रदेशमा रहेका कम्युनिस्टहरूकै सरकार यस उद्यममा सक्रिय पाइन्छन्। यसबाट पर्यटनलाई पनि विशेष फाइदा पुगेको देखिन्न।
समग्रमा भन्दा कैयौँ साहित्यिक संस्थाहरू आफ्नो उद्देश्यमै स्पष्ट पाइन्नन्। संस्थाहरू क्रियाशील त हुन्छन् तर भूमिका र लक्ष्यमा स्पष्ट हुन्नन्। साहित्यिक संस्थाहरूमा देखिएका यस्ता कमजोरीहरूलाई नछिमल्ने हो भने तिनले आफ्नो महत्त्व र सान्दर्भिकता गुमाउँदै जानेछन्। साहित्यको उन्नयन र प्रतिभाहरूको विकास कमजोरीहरूलाई हटाएर मात्र प्रभावकारी रूपमा गर्न सकिन्छ। साहित्यलाई विज्ञापन बनाउने, कार्यक्रमहरूको क्वाँटीकरण गर्ने, पुरस्कारहरूको गरिमालाई कमजोर बनाउने, साहित्यको सामाजिक र सौन्दर्यात्मक भूमिकालाई बिर्सने आदि जस्ता कमजोरीहरूका बारेमा साहित्यिक संस्थाहरू गम्भीर बन्न सक्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
