बाटो खुलेसँगै आरोहीहरूले शनिबार रातभरबाट आरोहण शुरू गरी आइतबार बिहानसम्म सगरमाथाको शिखर पुग्ने बताइएको छ।
काठमाडौँ– सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाइएको छ। शनिबार एक जना फोटोग्राफर र बाटो खुलाउने टोलीका आठ जना गरी नौ जना सगरमाथाको शिखरमा पुगेका हुन्।
बाटो खुलाउने टोली शनिबार १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको हो। बाटो खोल्ने जिम्मा इमाजिन नेपालले लिएको थियो।
बाटो खुलेसँगै आरोहीहरूले शनिबार रातभरबाट आरोहण शुरू गरी आइतबार बिहानसम्म सगरमाथाको शिखर पुग्ने बताइएको छ। शुक्रबारदेखि हावाको वेग कम देखिएपछि सबैजसो आरोहीहरू चुचुरोतर्फ लागेका थिए।
टिम लिडर दावा ग्याल्जे शेर्पा, निमा नुरु शेर्पा, लाक्पा सोना शेर्पा, दिपेन गुरुङ, पासाङ निग्मा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जगंबु शेर्पा र फोटोग्राफर सुमन गुरुङ सगरमाथा चुचुरोमा पुगेको सगरमाथा आरोहण दलका सदस्य विवेक पाण्डेले जानकारी दिए।
यसअघि प्रतिकूल मौसमका कारण सबै आरोहीहरू आधारशिविरमा रोकिइरहेका थिए। हावाको चाप कम देखाएको जानकारी पाउनासाथ आरोहीहरू शिखरतर्फ लागेका छन्।
“मे १८ सम्ममा हावाको वेग कम देखाएको छ, यही मौका पारेर आरोहीहरू सगरमाथाको आरोहणमा उक्लेका हुन्,” पाण्डेले भने। उनका अनुसार यस पटकको वसन्तमा चुचुरोमा अत्यधिक हावाहुरी चलेका कारण आरोहणमा ढिलाइ भइरहेको थियो।
“सगरमाथाको चुचुरामा मे १४/१५ सम्ममा चढी हाल्नै लक्ष्य आरोहीहरूले बनाएका छन्। त्यसै अनुसारको तयारीका साथ आधारशिविरबाट आरोहीहरू उँभो लागेका हुन्,” पाण्डेले भने, “मे १८ पछि पुनः हावाहुरी चल्ने मौसमी रिपोर्टले देखाएको छ।”
उनका अनुसार मौसमी प्रतिवेदनले सगरमाथाको उचाइमा यतिखेर प्रतिघण्टा २० देखि २५ किलोमिटरको हावाको वेग देखाएको छ। कतिपयले ३५ प्रतिकिलो मिटर वेग हुँदासम्ममा पनि कोशिश गर्छन्। तर, त्यसभन्दा बढी वेग देखाएमा चढ्दैनन्। त्यस्तो बेला हात खुट्टा चिसिन गई झर्ने सम्भावना बढी हुन्छ। यसअघि हावाको गति लगातार प्रतिघण्टा ४० देखि ६० किलोमिटर देखाएको थियो।
यसअघि मौसम सामान्य हुने आकलन गर्दै शेर्पाहरूले आरोहीका अक्सिजन, टेन्ट, खाना लगायत आरोहणसम्बन्धी सामग्री क्याम्प ४ सम्म पुर्याउन थालिसकेका थिए। तर, त्यहाँ चलेको हावाका कारण ५/७ जना शेर्पाको आँखा बन्द हुन पुगेको थियो। शुक्रबार दुई बजे मात्र एक शेर्पालाई हेलिकोप्टरबाट उद्धार गरी आधारशिविर ल्याइएको थियो।
विवेकका अनुसार आँखा सधैँका लागि बन्द हुने होइन, अस्थायी हो। कसैको केही घण्टापछि खुल्छ कसैको २/३ दिन लाग्छ। शारीरिक रूपमा यो समस्यालाई सामान्य लिइए तापनि आँखा बन्द भएपछि शेर्पाहरूले काम गर्न सक्दैनन्। तिनै शेर्पाहरूको सहयोगमा आरोहण गर्नुपर्ने हुँदा आरोहीहरूको उक्लने क्रममा असर पुर्याउँछ।
सगरमाथा चढ्ने भनेको राति हो। रातिको १२/१ बजे शेर्पाहरू टर्चलाइट टाउकोमा राखेर त्यसैको उज्यालोको भरमा माथि उक्लनुपर्छ। त्यतिबेला हावाले उडाएर ल्याउने हिउँका साना–साना बालुवा जस्तै कणले लगातार आँखामा हानी रहेको हुन्छ। “दिउँसोमा चस्मा लगाएका हुन्छन् तर रातमा लगाउन नमिल्ने हुँदा यो समस्या आइपर्छ” उनले भने।
आधारशिविर अहिले सुनसान भएको छ। आरोहीहरू सगरमाथाको चुचुरोतर्फ उक्लन थालेपछि आरोहण व्यवस्थापनमा जुटेका केही सदस्यहरू मात्र यहाँ छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
