कृष्णपुर नगरपालिका–२ वाणीकाका स्थानीयले खरबुजा बेचेर जीविकोपार्जन गरिरहेका छन्। चैत अन्तिम सातादेखि जेठसम्म महेन्द्र राजमार्गको किनारमा खरबुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।
बेदकोट– महेन्द्र राजमार्ग छेउमा लहरै छन्, स–साना छाप्रा। अघिल्तिर भरिभराउ खरबुजा। किनमेल गर्नेको चहलपहल। झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ।
शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गरेको छ। यात्रुहरू सवारीसाधन रोकेर तरबुजा किन्ने गरेका छन्। घाम छल्न त्रिपाल टाँगिएको छ। त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन्। कोही तौलिनमा व्यस्त छन्।
यही भीडमा तरभुजा बिक्री गरिरहेका छन्, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना। उनले वनहरा नदी बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गरेका छन्। “यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ,” उनले भने, “दैनिक एक हजारदेखि दुई हजारसम्म बिक्री हुन्छ।”
जगदेवको परिवार नै बगरमा तरभुजा खेती गर्नमा खटिने गरेका छन्। सोही गाउँकी नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरभुजा बिक्री गरेको दुई दशक बितिसक्यो। अनडैयामा बस्ने उनी आरक्ष विस्तारका क्रममा विस्थापित भएकी थिइन्। अनडैयाबाट विस्थापित भएपछि खेतीपातीका लागि जमिन थिएन। त्यसपछि बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएकी छन्।
“कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ,” उनले भनिन्, “खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा लगाएर जीवन धानेका छौँ।” वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन्। अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढीले तरभुजा बेचेर घर खर्च चलाइरहेका छन्।
गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्। बंक गाउँका ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन्। “शुरू घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थें, राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा खेती गरिरहेको छु,” उनले भने, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ।”
उनका अनुसार प्रत्येक वर्ष तरभुजा बिक्री गरेर ३० हजारदेखि रु ४० हजारसम्म बचत हुने गरेको छ। “छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरभुजा बेचेर आएको पैसाबाट हुन्छ,” मानबहादुरले भने, “३० हजारदेखि ४० हजारसम्म लगानी लाग्छ।”
मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा तरभुजा खेतीको लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ। तरभुजा प्रतिकिलो २५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ। बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताइन्।
“गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन,” उनले भनिन्, “बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
