क्रिकेटबाट मसाजमै फर्किएका सन्तोष

समाजमा मसाज भन्ना साथ गलत हो भन्ने भ्रमलाई चिरेर, ‘स्वास्थ्य विषय’ हो भन्ने कुरा बुझाउन दृष्टिविहिन खेलाडीको प्रयास







दीप सुवेदी÷किसन पाण्डे



काठमाडौँ– ३६ वर्षीय सन्तोषले बाल्यकालमा अन्य बालबालिका झैँ कुद्ने, उफ्रिने, अग्ला बारीका गराबाट सिनेमामा झैँ हाम फाल्ने, साइकल चलाउने, रूख चढ्ने गर्थे।



ठुलो भएपछि जे बन्ने सपना उनको थियो। त्यो सपना पूरा गर्ने कोसिस गरे। तर, त्यो सपना मात्र बन्यो। जन्मजात उनको गुमेका दृष्टिले त्यो सपना पूरा हुन दिएन। उनको सपना फेरियो, र शिक्षक बन्ने भए।



म अन्य साथी झैँ कुद्ने, दौडिने र साइकल चलाउने र रूख चढ्ने पनि गर्थे। तर, फरक क्षमता भएपछि सबै कुरा रहर गरेर पनि नहुने रहेछ। त्यसपछि शिक्षक बने र केही समय पनि पढाएँ।



तर, अरुको सधैँ भर पर्नु परेपछि त्यो पेसा पनि छाडिदिएँ र मसाज गर्नतिर लागियो,” उनले आफ्ना विगत सुनाए।



काठमाडौँ तारकेश्वर नगरपालिका–५ मा जन्मेका उनका ५ दाजुभाइमध्ये दुई जना जन्मजात दृष्टिविहिन छन्। उनका साइला दाइ र उनी ।



पिता प्रहरीमा जागिरे थिए। त्यसैले पनि पिता लोकनाथ र आमा शान्ताले उनलाई नजिकैको विद्यालयमा पढाए। उनका पिताले वीरेन्द्र सरकारबाट अनुमति ल्याएर पढ्ने वातावरण मिलाइदिएका थिए। तर, पढ्न कहाँ सजिलो हुन्छ र? सबै ब्रेललिपिमा पुस्तक नपाइने र सुनेकै भरमा उनले जसोतसो एसएलसी पास गरे।



विद्यालय शिक्षा सकिएपछि उनी भक्तपुर सानोठीमीस्थित शिक्षा सँकायमा भर्ना भए। अडियोबाट पढ्ने सुविधा पाएका उनलाई शिक्षक बन्छु भन्ने लाग्यो। शिक्षण अभ्यासका क्रममा उनले पढाउने मौका पनि पाए। तर, उनी अरु केही गर्न चाहन्थे।



आफ्नै क्षमतामा काम गर्न सके त्यसबाट आत्मा सन्तुष्टि मिल्दो रहेछ तर, स–सानो काममा अरुको मद्दत लिनुपर्दा असन्तोष लाग्ने रहेछ। उनी भन्छन्, “गृहकार्य र कपी चेकजाँच गर्न अन्यको भर पर्नुपर्ने भएपछि मलाई विकल्प खोज्नुपर्छ जस्तो लाग्यो। र, खोज्न थालेँ।”



मसाजले फेरिएको जीवनी



आफ्नै भरमा उभिनुपर्छ भन्ने मनोवैज्ञानिक दबाव बढ्दै गएपछि शिक्षक पेसा त्यागे। विकल्प खोज्दै जाँदा, संयोग नै मान्नुपर्छ त्यतिखेर बेलायती नागरिक रब ह्यान्ड सु हान लीसँग उनको परिचय भयो।



ती बेलायती नागरिक दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्ने तालिम दिने र सिंङ ह्यान्स ब्लाइन्ड मसाज क्लिनिक पोखरा र काठमाडौँमा खोलेर समाजसेवा गर्न चाहन्थे।



सन् २०१० तिर स्नातक दोस्रो वर्षमा पढ्दै गरेको बेला उनले यो कुरा सुने। उनी तार्केश्वरबाट स्पोट्स मसाजको ट्रेनिङबारे बुझ्न ठमेल पुगे। त्यतिखेर उनलाई बेलायतबाट सम्बन्धन प्राप्त इन्सट्युचबाट प्रमाणित गराउने बचन लीले दिएका थिए। उनलाई पनि ‘ढुङ्गा खोज्दा देउतै’ मिले झैँ भयो। उनी उस्तै क्षमता भएका साथीहरूसँग तालिम लिन थाले।





तर, मेडिकलको भाषा बुझ्न उनलाई कठिन लाग्यो। मानव शरीर बनोट विज्ञान र शरीर क्रिया विज्ञानको पाठ्यक्रम पढ्नुपर्ने, त्यसमा मसल, हड्डी, नसा, पाचन प्रणाली लगायत शरीरका विभिन्न प्रणालीबारे सबै ज्ञान लिन अनिवार्य थियो।



ती सबै चिकित्सा ‘ट्रम’ ल्याटिन भाषा मै हुन्थे। उनलाई शुरूमा पढ्न निक्कै असहज भयो। उनी भन्छन्, “सामान्य मानिसले आँखा अगाडिको कुरा देखिरहेको हुन्छ। उनीहरूको ध्यान कोही आउने बित्तिकै त्यतैतिर मोडिन्छ। तर, हामीले त आँखाले देख्नुपर्ने कुरा कानले सुन्नुपर्छ। त्यसैले ध्यान सबै पढाइमा हुने भएको कारण त्यसमा भिज्दै गएँ र सहज हुन थाल्यो।”



हुन् त यो पेसामा बाह्रै महिना ग्राहक पाईंदैन। विदेशी पर्यटक आउने समयमा काम गर्दा ६ महिना व्यस्त हुन्छौँ। ६ महिना अलि कम हुन्छ।



मार्च, अप्रिल, मे, अक्टोबर, नोभेम्बर र डिसेम्बरबाहेक अन्य महिनामा खासै कमाइ हुँदैन।



उनकै समूहमा यो तालिम लिएका चार जनाले नियमित कमाइ नहुने देखेपछि यो पेसालाई अगाडी लैजान नसक्ने भनेर छाडे। तर, सन्तोषलाई परिवार, अन्य जागिरमा निरन्तरताको चिन्ताले पिरोल्यो। पढाइसँगै यो कामलाई पनि अगाडि बढाउँदै गए र उपलब्धी हासिल गरे।



सन्तोष आफैँ पनि खेलाडी हुन्। उनले पाँच वर्ष त टेबुल टेनिस नै खेले। त्यसपछि सन् २००६ देखि २०१४ सम्म नेपाल दृष्टिविहिन राष्ट्रिय टोलीमा आबद्ध भएर क्रिकेट पनि खेलेका हुन्।



उनी सन् २००८ मा नेपालले नौ वटा मैत्रीपूर्ण खेल खेल्न पाकिस्तान भ्रमण गर्दा २० सदस्सीय टोलीमा थिए। सन् २००९ मा बेलायतमा हुने विश्वकपको तयारीमा रहेको टोलीले इस्लामवाद, कराँची र लाहोरलगायतका विभिन्न शहरमा क्षेत्रीय टोलीसँग ७ एक दिवसीय र दुई टी–२० खेल खेलेका थिए। त्यसपछि उनले सन् २०१४ मा एक विश्वकप र सन् २०१५ सम्म तीन एशिया कप खेले।



तर, टोलीमा प्रत्येक पटक फिजियोको नाममा अर्कै व्यक्ति लगिन्थ्यो। उनी टोलीका सदस्यसँगै थेरापिस्टसको भूमिकामा पनि रहे।



÷८ वर्षको बीचमा हामीले धेरै खेल खेल्यौँ। चाहिने टोलीको लागि थेरापिस्टस हो। तर, हरेक पटक एक फिजियो लिएर जान्थ्यौँ। खासमा चाहिनेचाहिँ खेलकुदमा मसाज नै हो। तर, वर्ल्ड ट्रेन भेटाउनचाहिँ गाह्रो छ। त्यही भएर राख्दैनन्,” उनी भन्छन्।



खेल सकिएपछि उनी कति पटक टोलीको थेरापिस्टको भूमिकामा पनि देखिए। आफूभन्दा बढी फिल्डिङ गर्ने र ब्याटिङ गर्ने साथीलाई थेरापी दिन उनी होटेलमा बसेका साथीकहाँ पुगिहाल्थे। यो सबै गर्दा टोलीमा रहेका अन्य खेलाडीको प्रदर्शनमा फरक पाउने उनको बुझाइ थियो।



खेल नै खेलेर जीवन धान्न नसकिने रहेछ। यसमा समय पनि धेरै खर्चिनु पर्छ। परिवारमा संख्या बढेपछि सबै समय खेलमै दिन गाह्रो भयो। त्यसैले आयआर्जनको वैकल्पिक स्रोत नै खोजेँ” उनी भन्छन्,“तर, क्रिकेट खेल्दा मेरो सानो प्रयासले पोजेटिभ इम्प्याक्ट पार्छ भन्ने किन नगर्ने भन्ने हुन्थ्यो। त्यसैले म थेरापिस्टको भूमिकासमेत निर्वाह गर्दिन्थे।”



क्रिकेट खेल्न छाडेपछि उनको दैनिकी नै फिरियो। उनी त्यसपछि यही पेसामा फर्किए। उनलाई फ्रान्समा यही पेसा अगाडि बढाउने अवसर पनि प्राप्त भएको थियो। तीन पटक उनले फ्रान्स जाने प्रयास गरे। तर, तीन पटक फ्रान्स दूतावासबाट उनको भिसा अस्वीकृत भयो। त्यसपछि उनले आफ्नो कर्मथलो नेपाल नै बनाए।



कस्तो समस्या लिएर आउँछन् बिरामी?



अहिले उनको मसाज कक्षमा पिँडौलाको मसल, ह्यामस्ट्रिङ मसल, कुममा जाम हुने, ढाडको तत्लो भाग, डिस प्रोब्लम भएर नसा च्यापिने, घाँटी बायाँतिरबाट दायाँतिर र दायाँतिरबाट बायाँतिर फर्काउन नसक्ने समस्या लिएर उनी कहाँ आइपुग्ने धेरै छ। यसरी आइपुग्ने ग्राहक वर्ल्ड माउथ, सामाजिक सञ्जाल र चिनजानको भरमा पुग्ने गर्छन्।



कतिपय मसल बढी गर्दा जाम हुने गर्छ। त्यसलाई सामान्यमा फर्किन समय लाग्छ,” उनी भन्छन्। आएका कतिपय ग्राहक पहिलो मसाजबाटै सन्तुष्ट भएर दोस्रो दिन फेरि गराउन मिल्छ भनेर उनलाई सोध्छन्। तर,लगातार मसाज गर्न नहुने उनको बुझाइ छ। तर, मसललाई रिल्याक्स हुन २४ देखि ४८ घण्टा लाग्ने उनी बताउँछन्।



पहिलो पटक आउनेले प्रायः म भोलि पनि आउँछु, अपोइन्टमेन्ट लिन मिल्छ भनेर सोध्छन्, तर हामी मिल्दैनौँ भन्छौँ। हामीले पेसर दिएका हुन्छौँ। त्यसले केही न केही इफेक्ट परेको हुन्छ। मसलमा भएको रिल्याक्ससेसनलाई पहिलाकै स्थितिमा आउन केही समय लाग्छ,” उनी भन्छन्।



हुन् त नेपाली समाजमा मसाजप्रति नराम्रो भाष्य छ। धेरैले यसलाई यौन व्यवसायसँग जोडेर हेर्ने गरेका छन्। उनलाई पनि कतिपयले फोन गरेर ह्यापी मसाज (यौन मसाज) पनि दिनुहुन्छ? भनेर सोध्छन्। हुँदैन भनेर जवाफ फर्काउँदा कतिपय ग्राहक भड्किने गरेको उनको अनुभव छ। त्यसमाथि समाजमा पुरुषले महिलाको शरीरमा छुन हुँदैन भन्ने धारणा भएको कारण पनि महिलाहरू मसाज गर्न नआउने उनको भनाइ छ।



विदेशमा मसाजलाई हेर्ने दृष्टिकोण फरक छ, त्यहाँ शिक्षित धेरै छन्। हाम्रोमा पनि छन्, तर पुरुषले महिलाको शरीरमा छुन हुँदैन भन्ने मान्यता राख्ने धेरै छन्। त्यसैले कम आउँछन्,” उनी सुनाउँछन्,“ आउने प्रायः महिला पुरुष शिक्षित घरानाका हुन्छन्। उनीहरू कतिपय आफ्नो परिचय दिन्छन् त कतिपय परिचय दिन रचाउँदैनन्।”



उनका अनुसार स्पोट्स मसाज गर्ने पनि तरिका हुन्छ। एफ्लोराज, पेट्रिसाज, फिक्सन र टपोमेन्ट टेक्निक हुन्छ। त्यस टेक्निङमा हातका कुन औँला प्रयोग गर्ने र कुन हातको पाम (हत्केला) लाई कसरी प्रयोग गर्ने भन्ने भन्ने हुन्छ।



बूढी औँलालाई प्रेसर पोइन्टलाई प्रेस गर्न प्रयोग गर्ने गरिन्छ। हत्केलालाई ब्रोड र सानो मसललाई दुखाइ कम गर्न प्रयोग गरिन्छ। “मसाजमा सामान्यतया दुई हातको बूढी र माइली औँला प्रयोग गरिन्छ। र दुई हत्केला मात्रै प्रयोग गरिन्छ। सबै क्षेत्र हेरेर आफ्नै हातले छामेर उपचार गर्छौँ,” उनी भन्छन्।



सामान्यतया फिजियो थेरापीमा मेसिनको प्रयोग गरिन्छ। मेसिनले लचकता ल्याउँछ। तर, सबै शरीरका अंगमा आटिफिसियल मेसिनले कभर गर्न नसक्ने र संवेदनशील अंगमा मेसिनले थेरापी गर्दा समस्या उत्पन्न हुने भएको कारण मसाज आवश्यक रहेको उनी बताउँछन्। “मान्छे भएको कारण मैले ग्राहकको पीडा त महसुुस गर्न सक्छु नि त। मेसिनले गर्दा भन्दा हातले गर्दा कुन भागमा कति प्रेसर दिने भन्ने कुरा मान्छेले नियन्त्रण गर्न सक्छन्। अब बढी दुखेको ठाउँमा बढी प्रेसर दिने र कम दिनुपर्ने ठाउँमा कम दिन सकिन्छ। तर, मेसिनले त्यस्तो नगर्न सक्छन्,” उनी भन्छन्।



अन्य मुलुकमा शारीरिक समस्या नभए पनि हप्ताको १÷२ पटक मसाज लिने प्रचलन छ। अहिले उनी कहाँ नेपाल घुम्न आएका विदेशी पर्यटकहरू पनि मसाजको अनुभव लिन एक पटक सिंङ ह्यान्ड्समा पुग्ने गरेका छन्। तर, नेपाली भने समस्या उत्पन्न भएपछि मात्रै आफू कहाँ आउने गरेको उनको भनाइ छ। अहिले सिंङ ह्यान्ड्समा दुई दृष्टिविहिन महिला मसाजको प्रशिक्षण लिन आउँछन्। उनीहरूलाई कुनै शुल्क लिने नगरेको उनको भनाइ छ।



हामीसँग दुई उद्देश्य छन्। शिक्षित र बेरोजगार दृष्टिविहिनलाई रोजगार दिने र नेपाली समाजमा मसाज भन्ने बित्तिकै नराम्रो कुरा सोच्ने जमात छ। त्यस भ्रमलाई चिरेर मसाज भनेको स्वास्थ्य विषय हो। जुन विषयलाई अलिकति सोचौँ, गरेनौँ भने पछि हामीलाई समस्या उत्पन्न गराउँछ भन्ने कुरा बुझाउन चाहन्छौँ,” उनी भन्छन्।



आफ्नो लक्ष्य काठमाडौँमा मात्रै सेवा दिने नभएको भन्दै धेरैलाई प्रशिक्षण दिन अस्ट्रेलियाबाट भोलेन्टियर ल्याउने योजनामा रहेको उनी सुनाउँछन्।