नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दलका शीर्ष नेताहरूबीच छलफल

‍बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।

काठमाडौँ– तीन दलका शीर्ष नेताको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक रूपमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक रूपमा छलफल गरेको बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीच छलफल भएको उनको भनाइ छ।  शीर्ष नेताहरूबीच प्रकरणको संविधान र कानूनअनुसार काम कारबाही अघि बढाउने र त्यसमा कुनै हस्तक्षेप नगर्ने समझदारी भएको उनले जानकारी दिए।

“प्रसंगवश यो विषय उठेको थियो। तपाईंहरू तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ के हो भनेर मैले सोधेको थिएँ,” उनले न्युज एजेन्सी नेपालसँग भने “...हामी तीन दलको बीचमा एउटा समझदारी छ, त्यो संविधान कानूनबमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ।”

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले शीर्ष नेताहरूको बैठकमा संसदीय गतिविधिहरू र विधेयकहरूलाई अघि बढाउन समझदारी बनेको बताए। उनका अनुसार सोमबारदेखि विषयगत समितिको बैठक र संघीय संसद्को संयुक्त समिति र नियमावली बनाउनेबारे सहमति जुटेको छ। सोमबारबाटै संसदीय समिति चलायमान बनाउने र संसद्बाट समितिमा गएका विधेयकहरू अघि बढाउने सहमति भएको छ।

यसैगरी, शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाका विषयगत समितिमा संघीय संसद्मा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको पनि बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको उनको भनाइ छ।

बैठकमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने लगायतका विषयहरूमा चाँडै सहमति जुटाउने निर्णय भएको उनले बताए। “शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने लगायत संविधान निर्माणको प्रक्रिया त्यसलाई हामी सबै मिलेर एउटा निष्कर्षमा पुर्‍यायौँ, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलहरू आधारभूत रूपमा एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्नुभएको छ,” उनले भने।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले उपनेता नेम्वाङ सहभागी थिए।