जेठ ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको  बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।

काठमाडौँ– प्रतिनिधिसभाको जेठ ४ गते बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने तयारी गरिएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए। उनले संसद्भित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको बताए। 

“प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ,” उनले भने, “त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ।”

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए। उनले सकेसम्म सोमबार नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे।

उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ। प्रधानमन्त्रीसँग गरिने प्रत्यक्ष प्रश्नोत्तरलाई कसरी व्यवस्थित गर्ने र प्रश्नहरूको बाँडफाँट कसरी गर्ने भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ।

त्यस्तै, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिनअगावै सभामुखकहाँ पुग्नुपर्ने बताए। ती प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उनको भनाइ छ।

“३ दिनअगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखज्युकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीज्युलाई गराइन्छ,” उनले भने। उनले इच्छुक १५ जना प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको बताए।