टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

उनलाई प्रहरीले आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरी परिसर प्रमुख, एसएसपी दानबहादुर कार्कीले रायमाझीलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको र काठमाडौँ प्रहरी परिसरमा ल्याउँदै गरिएको उकालोलाई बताए।

नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी फरार भएपछि पार्टीले उनलाई सचिवबाट निलम्बन गर्दै प्रहरी अनुसन्धानमा सघाउन निर्देशन दिएको थियो। यही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

प्रहरीले यो प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ। जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन्।