'ए' डिभिजन लिगमा सोमबार भएको खेलमा खुमलटार मछिन्द्रसँग पराजित भएको छ भने अर्को खेलमा हिमालयन शेर्पाले संकटासँग अंक बाँडेको छ।
काठमाडौँ– फुटबलमा सबै खेलाडीले सधैँ उस्तै गरी प्रदर्शन गर्छ भन्ने हुँदैन। उद्घाटन खेलमा फ्रेन्ड्स क्बललाई १–० गोल अन्तरले पराजित गरेदेखि नै शहीद स्मारक 'ए' डिभिजन लिगमा एफसी खुमलटारका दुई अफ्रिकन खेलाडी स्टेफन समिर विनोङ र मेसुके ओलुमोउको प्रदर्शन स्मरणीय रह्यो।
लिग लिडर जावलाखेल युथ क्लबलाई ४–२ गोलको बराबरीमा रोक्दा होस् या आठ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दा यी दुई खेलाडीको प्रदर्शन उम्दा रह्यो। यी दुई खेलाडीको प्रदर्शन खस्किएको खेलमा खुमलटार पराजित रह्यो। यो क्रम सोमबार पनि जारी रह्यो।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न साबिक विजेता मछिन्द्र फुटबल क्लबसँगको भिडन्तमा यी दुई खेलाडीले राम्रो प्रदर्शन गर्नै सकेनन्। र, खुमलटार ३-० गोल अन्तरले पराजित भयो। जारी लिगमा खुमलटारको यो ११औँ हार हो।
खुमलटार पहिलो लेगमा चर्च ब्वाइज, थ्रीस्टार, सातदोबाटो, संकटा, मछिन्द्र, न्यूरोड टिम (एनआरटी), नेपाल पुलिससँग पराजित भएको थियो। दोस्रो लेगमा भने फ्रेन्ड्स, न्यूरोडसँग पराजित भएको थियो।
प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पाएको अवसर सदुपयोग गर्न नसक्दा मछिन्द्रसँग पराजित भएको हो। मछिन्द्रको जितमा ओलावाले ओलादीपो अफिजले दुई र आन्द्रेस नियाले एक गोल गरे। खेलको ४२औँ मिनेटमा नियाले गोलमा परिणत गरे। उनको गोलसँगै मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।
७७औँ मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो। ओलावाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरे। ८३औँ मिनेटमा ओलावाले पुनः गोल गर्दै मछिन्द्रलाई ३–० गोल अन्तरको जित दिलाए। जारी लिगमा ओलावालेको यो १२औँ गोल हो। उनी खुमलटारका मेसुकेभन्दा एक गोलले पछाडि रहेका छन्। जारी लिगमा हालसम्म सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा रहेका मेसुकेले १३ गोल गरिसकेका छन्।
खुमलटारविरुद्ध मछिन्द्रले 'लिग डबल' (पहिलो र दोस्रो खेलमै पराजित) गरेको छ। पहिलो लेगमा मछिन्द्र ७–३ गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा ओलावालेले मछिन्द्रका लागि ४ गोल गरेका थिए। यता, मेसुकेले भने खुमलटारका लागि २ गोल गरेका थिए।
जितसँगै मछिन्द्रको १८ खेलबाट ३० अंक पुगेको छ। मछिन्द्र तेस्रो स्थानमा रहेको छ। मछिन्द्रले १८ खेलमा ८ जित, ६ बराबरी र ४ हारको नतिजा बेहोरेको छ। समान ३० अंक नै रहे पनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड ‘हेड टु हेड’मा अघि छ। पराजित खुमलटार १८ खेलबाट १७ अंक जोडेर पुछारमा छ। खुमलटारले पाँच जित र दुई बराबरीको नतिजा निकालेको छ।
संकट र हिमालयन शेर्पाको बराबरी
त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सोमबार सम्पन्न अर्को खेलमा अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्लब संकटासँग अंक बाँड्न बाध्य बन्यो। हिमालयनका लागि म्यानुयल नानाले गोल गरे। संकटाका लागि आयुष घलानले एक गोल फर्काए।
खेलको ५०औँ मिनेटमा नानाले हिमालयनलाई अग्रता दिलाएका थिए। तर, ७४औँ मिनेटमा आयुषले पेनाल्टीमार्फत् गोल गर्दै संकटालाई बराबरीमा ल्याए। पेनाल्टी बक्स भित्र हिमालयनको खेलाडीले आयुषलाई लडाएपछि संकटाले पेनाल्टी प्राप्त गरेको थियो।
यी दुईबीचको पहिलो लेग पनि गोलरहित बराबरीमा सकिएको थियो। बराबरीसँगै १८ खेलमा २२ अंक जोडेको हिमालयन नवौँ स्थानमा उक्लिएको छ। हिमालयनले पाँच जित, ६ बराबरी र सात हारको नतिजा बेहोरेको छ। संकटा समान नतिजा निकाल्दै २१ अंकका साथ ११ औँ स्थानमा उक्लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
