आयोजकका अनुसार उम्मेदवार र मतदाताका लागि साझा 'प्ल्याटफर्म' बनेको उक्त मेलामा चार हजार बढीले सहभागिता जनाएका थिए।
काठमाडौँ– प्रायः विद्यार्थी, शिक्षक, चिया जमघट, समय–समयमा बाइक, जुत्ता, हस्तकलालगायतका व्यवसायको प्रदर्शनीले चलायमान हुने प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको बुधबारको परिदृश्य बेग्लै थियो। त्यहाँ राखिएका ३० वटा स्टलबाट आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका ७२ जना उम्मेदवारले आफ्ना अजेन्डा सुनाउँदै थिए।
'उम्मेदवार मेला' नाम दिएको उक्त कार्यक्रमको आयोजना भूगोल पार्क नेपालले गरेको थियो। यस प्रकारको अभ्यास सम्भवतः नेपालमा मात्र नभई दक्षिण एसियामै पहिलो पटक भएको आयोजक भूगोल पार्क नेपालका प्रमुख सिमोन ढुंगानाको तर्क छ।
कसरी आयो उम्मेदवार मेलाको योजना?
केही समयअघि भृकुटीमण्डपमा अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा)ले 'इभी अटो शो' आयोजना गरेको थियो। त्यही शोलाई देखेर नै आफूलाई उम्मेदवार मेला गर्ने योजना फुरेको बताउँछन्, ढुंगाना।
"दैनिक प्रयोग गरिने वस्तु तथा सामग्री किन्दा त 'टेस्ट' र 'ट्रयाल' गर्छौं भने देश बनाउने व्यक्तिका योजना र अजेण्डा किन टेस्ट नगर्ने भन्ने लाग्यो," उनी भन्छन्, "सोही योजनाअनुसार उम्मेदवारलाई एउटै स्थानमा राखेर लेखाजोख र तुलना गर्ने सोचका साथ मेलाको आयोजना गरेका हौँ।"

मेला चार दिनको छोटो तयारीमा आयोजना गरिएको भए तापनि सफलताका साथ सम्पन्न भएको उनको भनाइ छ। आयोजकका अनुसार उम्मेदवार र मतदाताका लागि साझा 'प्ल्याटफर्म' बनेको उक्त मेलामा चार हजार बढीले सहभागिता जनाएका थिए। मेलामा ३० उम्मेदवारका स्टल राखिएको थियो भने ७२ जना उम्मेदवारको उपस्थिति थियो।
मेलामा उपस्थित उम्मेवारलाई मञ्चमा बोलाएर पालैपालो बोल्ने अवसर दिइएको थियो। दिउँसो करिब १२ बजे औपचारिक रूपमा शुरु भएको मेला साँझ पाँच बजेसम्म चलेको थियो।
ठूला पार्टीका उम्मेवार न्यून
मेलामा ७२ उम्मेदवारले सहभागिता जनाउँदा राष्ट्रियस्तरका पार्टीबाट राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाहेक अन्यको उपस्थिति देखिएनन्। मेलामा राप्रपाबाट कुन्तीदेवी पोखरेल र नेमकिपाका शैलेश डंगोलको उपस्थिति थियो। राप्रपाकी पोख्रेलले काठमाडौं–२ र डंगोलले काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन्।
मेलामा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेवारहरू देखिनन्। यता, भर्खर अस्तित्वमा आएका नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थिति थियो।
मेलामा प्रतिस्पर्धीहरूले एकअर्कोलाई शुभकामना आदानप्रदान गरिरहेका चाखलाग्दो दृश्य पनि देखिन्थ्यो। कार्यक्रममा आउन सबै दललाई आह्वान गरिएको भए तापनि राष्ट्रियस्तरका पार्टीले मेलाबाट लाभ उठाउने मौका गुमाएको तर्क गर्छन्, ढुंगाना।

मेलामा उम्मेवदार र मिडियाको बाक्लो उपस्थिति रहँदा मतदाताको चलहपल न्यून नै देखिन्थ्यो। सार्वजनिक बिदा नभएको दिन र छोटो समयावधिमा मेला योजना गरेका कारण सर्वसाधारणको उपस्थिति कम देखिएको तर्क गर्छिन्, मेला आयोजक भूगोल पार्क नेपालकी बिजिनेस अप्रेसन हेड उपेक्क्षा तुलाधर। यद्यपि, निजी संस्थाले गरेको पहिलो पहल र यसमा देखिएको सहभागिताले मेलालाई सफल बनाएको उनको जोड छ।
उत्साही उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पुकार बम निकै व्यस्त देखिन्थे। उनको स्टलमा युवादेखि वृद्धवृद्धासम्मको भीड थियो। उनीहरूले बमलाई निर्वाचनमा जितको शुभकामना दिइरहेक थिए। उनी स्वयं पनि कार्यक्रममा सहभागी हुन पाउनुलाई सुवर्ण अवसर ठान्छन्।
नेपालमा पहिलो पटक गरिएको यो कार्यक्रमले मतदातासँग अन्तक्रिया र उनीहरूको अपेक्षालाई नजिकबाट नियाल्न मौका दिएको बनले बताए। उनको प्रतिस्पर्धामा रहेका राप्रपाका रवीन्द्र मिश्र, नेपाली कांग्रेसका प्रकाशमान श्रेष्ठ भने मेलामा देखिनन्।

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि उम्मेदवारी दिएका छन्। राष्ट्रियता, समृद्धि, कृषि, जनशक्ति, प्रविधि र पूर्वाधार, प्रदेश संरचना खारेजजस्तो अजेण्डाका साथ उनी मञ्चमा उभिएर आफू सक्षम उम्मेदवार रहेको दाबी गर्दै भोट मागेका थिए।
यता, काठमाडौं–६ बाट लालटिन चुनाव चिह्नसहित स्वतन्त्रमा उठेका प्रमेश श्रेष्ठले यस्ता कार्यक्रमले उम्मेदवार तथा मतदातालाई अन्तरक्रियाका लागि सहजता र सुलभता दिएको बताए।
त्यस्तै, काठमाडौं–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले यस्ता कार्यक्रमले मतदाता र उम्मेदवारलाई अन्तर्क्रियाका लागि साझा थलो उपलब्ध हुने बताए। यस्तो कार्यक्रमले एउटै स्थानमा रही जनतालाई आफ्नो क्षेत्रको उम्मेदवारका बारेमा बुझ्न र उचित लागेको उम्मेदवार चयन गर्न पनि सहज बनाउने उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
