प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभा नियमावलीमा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले प्रश्न सोध्न सक्ने र एक जनाको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइने उल्लेख छ। 

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्दैछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूची रहेको छ। प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

गौतमका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन्। प्रतिनिधिसभा नियमावलीमा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने र एक जना सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइने उल्लेख छ। प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ।

यस्तै, प्रधानमन्त्री दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ।