बेंगलोरसँग हैदराबाद ८ विकेटले पराजित

बेंगलोरले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ। प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद तालिकाको पुछारमा छ।

काठमाडौँ– ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।

गएराति भएको खेलमा घरेलु टोली हैदराबाद ८ विकेटले पराजित भएको हो। १८७ रनको विजयी लक्ष्य बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

बेंगलोरका विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले। उनले ६३ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान फाफ डू प्लेसिसले ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको योगदान दिए। 
हैदराबादका टी नटराजन र भुवनेश्वर कुमारले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो।

हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक १०४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उनले ५१ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए। ह्यारी ब्रुक २७ रनमा नटआउट रहे। कप्तान एडेन माक्ररम १८ रनमा आउट भए। 

बेंगलोरका माइकल ब्रेसवेलले २, मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदका नाममा समान १/१ विकेट रह्यो। 

जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ। बेंगलोर ७ जित र ६ हारसहित १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।

 प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद ४ जित र ९ हारसहित तालिकाको पुछारमा छ।