प्रमलाई कुरोग्राफरको प्रश्न– '३ दलका शीर्ष नेताहरूको लगालग बैठक चलिरहेका छन्। आपसमा मिलेर 'भीआईपी' पर्सन्स अफ इन्ट्रेस्टलाई बचाउन, फसिसकेकालाई अझै फसाएर मुद्दा रफादफा गर्नतिर लागेको भन्न थालिएको नि?'
हिजो बिहीबार प्रतिनिधिसभामा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको थियो। प्रधानमन्त्री पीकेडी एलियास पीले विभिन्न दलका सांसदले उठाएका समसामयिक विषयमा आधारित प्रश्नहरूको उत्तर दिएको जस्तो गरेका थिए। तर, त्यस्ता केही सान्दर्भिक र गहन प्रश्नहरू अझै बाँकी छन्, जसले उक्त संसदीय इभेन्टमा ठाउँ पाएका थिएनन्, अथवा पाएर पनि भाउ पाएका थिएनन्।
भाग्यवश, आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेश हुँदै गर्दा प्रधानमन्त्री पीकेडी 'फोन ब्रेक'मा संसद् भवनको लबीतिर टहलिँदै थिए, जहाँ कुरोग्राफरको उनीसँग 'अकस्मात्' जम्काभेट भयो। दैवले जुराएको आहार पेट टन्नै भए पनि छोड्नुहुन्न भन्ने गुरु प्राडा कुरोलोजिस्टको सिद्धान्तअनुरूप प्रमसमक्ष एमरजेन्सी अन्तर्वार्ताको प्रस्ताव राखिहालेँ। मैले ‘चिन्नुभा'छ म को हुँ?’ भन्नेबित्तिकै बिनाहिच्किचाहट टाउको हल्लाउँदै उनी अन्तर्वार्ताका लागि तयार भए। सो क्रममा बिहीबार छुटेका तिनै अत्यावश्यक प्रश्नहरू सम्मिलित गर्दै वार्तालाप शुरू भयो।
प्रस्तुत छ त्यही सन्दर्भमा गरिएको कुराकानीको अन्फिल्टर्ड अंश:
केजी: नमस्कार प्रधानमन्त्रीज्यू! अहिले सबैको नजर नक्कली शरणार्थी बनाएर नेपाली नागरिक तस्करी गर्ने सञ्जालमा राज्यका उच्च ओहदाका व्यक्ति सम्मिलित भएको समाचारमाथि छ। तीन ठूला दलका शीर्ष नेताहरूको लगालग बैठक चलिरहेका छन्। पुराना दलका टाउकेहरू आपसमा मिलेर 'भीआईपी' पर्सन्स अफ इन्ट्रेस्टलाई बचाउन, फसिसकेकालाई अझै फसाएर मुद्दा रफादफा गर्नतिर लागेको भन्न थालिएको छ। तपाईंको प्रतिक्रिया?
पीकेडी : भन्नेले के–के भन्छन्, भन्छन्। सबैको मुख थुन्न सकिन्न। पाए त हुन्थ्यो। हामीले पूर्ण सत्ता कब्जा गर्न सकेको भए सबैको मुख थुन्न गाह्रो काम हुँदैन थियो। शान्ति सम्झौताले गर्दा न सत्ता कब्जा भयो न कसैको मुख थुन्न सकियो।
केजी : यो त विषयान्तर भयो। मुद्दामा फर्किऔँ होला।
पीकेडी : अहिलेको परिस्थितिमा त्यस्तो शंका उब्जिनु जायज हो। म आफैँ पनि चकित छु कि किन प्रमाण भेटिसक्दा पनि केही आरोपित अनुसन्धानको घेरामा ल्याइएका छैनन्। यो सुनियोजित कार्य पछाडि कुन गिरोह संलग्न छ? यसमा कतै देशी–विदेशी प्रतिक्रियावादी, यथास्थितिवादीको हात त छैन? यो सवालमा म जनताको साथमा छु। विषयको जडसम्म पुगेर अनुसन्धान गर्न, दोषीलाई कठघरामा उभ्याउन म सरकारसँग जोडदार माग गर्दछु।
केजी : तर... सरकार त तपाईंको हो। यसको कामकारबाही, यसअन्तर्गत लिइने निर्णयहरूमा तपाईंको भूमिका हुन्छ नि हैन? तपाईंले चाहेको खण्डमा कसुर लागेको व्यक्तिमाथि नियमानुसार अनुसन्धान गर्ने/गराउने निर्णय लिन सक्नुहुन्छ नि।
पीकेडी : बिसौँ शताब्दीतिरकी अमेरिकी फर्स्ट लेडी एलेनोर रूजभेल्टको एउटा प्रख्यात भनाइ छ ‘आई युज्ड टु थिन्क आई वज इनडीसाइसिभ, बट नाउ आई एम नट सो श्योर’ अर्थात् मलाई लाग्थ्यो कि म निर्णय गर्न नसक्ने मान्छे हुँ, तर अब मलाई त्यसमा पनि शंका छ। मेरो पनि हालत अहिले त्यस्तै छ।
केजी : विषयान्तर…
पीकेडी : कस्तो विषयान्तर? के विषयान्तर? हामी तीन दलका नेता मिलेर भागबन्डा मिलाइसक्यौँ, मतलब यस विषयमा छलफल गरिसक्यौँ। दोषीउपर कारबाही हुन्छ, तर निर्दोष व्यक्ति मुछिनु हुँदैन। प्रेममा विश्वास गर्नुस्, घृणामा हैन। तपाईं पितृसत्ताको भारी बोक्ने कारिन्दा हुनुहुँदो रहेछ। तपाईंले इंगित गर्न चाहेको पढालेखा महिलाले आफ्नै खुट्टामा उभिएर लोभलालचबिना राजनीति गरेको देखिसक्नु भएन? दोषीलाई उम्काउने जस्तो गम्भीर आरोप लगाउने? म सडकदेखि सदनसम्म महिलाको हकहित र सम्मानका लागि लड्ने मान्छे हो।
केजी : महिलाको यस्तो सम्मान गर्ने व्यक्तिको पुरुषहरूले मनखुशी लुगा पहिरिँदा नभएको ध्यानाकर्षण महिलाले त्यस्तै लुगा लगाउँदा सामाजिक सञ्जालमा टिप्पणी उठेपछि 'ड्रेस कोड'मा रूपान्तरित भएबारे के धारणा छ? यसै पनि अहिले आर्थिक, सामाजिक, राजनीतिक गन्जागोल भइरहेको माहौलमा प्राथमिकतामा पर्नुपर्ने विषय थियो यो?
पीकेडी: मैले माथि पनि भनिसकेँ। महिलाको सम्मान हुनुपर्छ। पुरुषहरू हिजो पनि लफुंगा भएर हिँड्थे आज पनि हिँड्छन्, त्यसले केही फरक पर्दैन। आज महिलाको सन्दर्भमा त्यही हुँदा हामी जुरमुरायौँ, किनकि त्यो हाम्रो महिलाप्रतिको सम्मान हो। यसलाई त्यसरी बुझ्नुपर्छ, हरेक कुरामा नकारात्मकता देख्नु हुन्न। हामी वर्षौंदेखि अपहेलित महिलाको हकहित, सम्मान एवं अधिकारको विषयमा अत्यन्तै संवेदनशील रहिआएका छौंँ।
केजी: तपाईंहरूको सम्मान बुझिनसक्नु छ। कुरामा मात्र सीमित हुन्छ महिलाको सम्मान? वास्तविकतामा सांसद हुन् वा आममहिला राज्यका हरेक अंगबाट अपमानित हुँदै आएका छन्। महिलाको नामबाट नागरिकता जारी गर्नु राज्यद्रोहबराबर परिभाषित गरिन्छ। नाबालिग महिला बलात्कारजस्तो संगिन आरोप लागेका व्यक्तिको तपाईंहरू नै हाईहाई गर्नुहुन्छ। मेयरदेखि राष्ट्रपतिसम्मले स्याबासी दिन्छन्। यस्तो प्रवृत्तिमाथि तपाईंको प्रतिक्रिया?
पीकेडी : त्यो पर्दैन।
केजी : एक त त्यो तपाईंको डायलग होइन। अर्को, यसरी मन लागेको प्रश्नको आधाआधी जवाफ दिने, मन नपरेको प्रश्न छल्न मिल्छ र? प्रधानमन्त्री हरेक नागरिकको सवालप्रति उत्तरदायी हुनुपर्दैन?
पीकेडी : के मिल्छ थाहा छैन, तपाईंले भने मेरो कल–ब्रेक टाइममा यस्तो प्रश्न गर्न मिल्दैन। मैले अगि नै भनिसकेँ, त्यो पर्दैन।
केजी : के पर्छ त?
पीकेडी : पानी पर्छ। रातभर, गुगलले भनेको... केही गम्भीर प्रश्न छ भने सोध्नुस्, सार्वजनिक खपतका लागि पुँजीवादी मिडियाले प्रयोग गर्ने यस्ता हलुका टिप्पणी नगर्नुस्। नत्र मभित्र सदनमै बसेर ‘क्यान्डी क्रश’ खेल्नतिर लागेँ।
केजी : उसो भए भारत भ्रमणको तयारीबारे भनिदिनुस् न। त्यहाँ गएको बेला ईपीजी प्रतिवेदन बुझ्ने/बुझाउने कुरा होला? राष्ट्रिय स्वयंसेवक संघ, विश्व हिन्दू परिषद् आदिले नेपालको वातावरण प्रभावित पार्न खोजेको बारे कुरा राख्नुहुन्छ?
पीकेडी : भ्रमणको तयारी राम्रो छ। उता गएर राम्ररी घुम्नुपर्छ। नानीहरूको किनमेल पनि गर्नु छ। बाइल्याटरल इन्टरेस्टका कुरा पनि हुने छन्, त्यसमा सबै पर्छन्।
केजी : सबै? अनि लिपुलेक, लिम्पियधुरा, कालापानी?
पीकेडी : त्यो निर्वाचननजिकै आउँदा गर्ने कुरा हो। अहिले हैन। अरू केही छ भने सोध्नुस्। भित्र अलि इन्टरेस्टिङ कुरा हुने बेला हुन लाग्यो।
केजी : ह्म्म्म्म ... सम्माननीय प्रमज्युलाई खेलतिर कतिको चासो छ?
पीकेडी : राम्रै चासो छ। म मान्छे खेलाडी नै हो, हेर्नुस्। ऊबेला लुक्दै हिँड्न पर्थ्यो, भूमिगत बस्दा टाइमपास गर्न पप्लुदेखि म्यारिजसबै खेलियो। होली पनि खेलियो। मेरो एक्स बेस्टी केपीएसोसँग दोहोरी त कति खेलियो खेलियो। आजकल भगबन्डा, रिभेन्ज–पोलिटिक्स खेल्नबाट फुर्सदै हुन्न। यसो मोबाइलमा कहिलेकाहीँ कलब्रेकसम्म खेलिन्छ । अरू बेला त क्यान्डी क्रश नै हो।
केजी : (टोलाएर) मैले मैदानमा खेल्ने खेलकुदको कुरा गरेको। केही खेलकुद गर्ने गर्नुभएको छ? अथवा हेर्नुहुन्छ?
पीकेडी : ए ए ! प्रष्ट कुरा सोध्ने गर्नुस् न। तपाईंले अलि कति पत्रकारिता तिखार्नु पर्ने आवश्यकता देखेँ मैले। अगि भनी हालेँ, खेल्ने फुर्सद त छैन, तर फुटबल क्रिकेट हेर्छु। अहिले लिग गेमहरू हेर्दै छु– च्याम्पियन्स लिग, प्रिमियर लिग, आईपीएल यस्तै यस्तै। साथीभाइमाझ हल्का सट्टा पनि लगाइन्छ।
केजी : यसपालि जितहारको प्रक्षेपण के कस्तो छ त?
पीकेडी : हिजो एउटा भिडियो हेरेको थिएँ– पहिला पहिला पल अक्टोपस, सिंगापुरी सुगा जस्तै अहिले कुखुराको अन्डाले भविष्यवाणी गर्दा रहेछन्। त्यसैअनुसार च्याली इन्टरमिलानले जित्ने बाजी राखेको छु। पीएलको कुरा गरेर पुरानो घाउ बल्झाउन म चाहन्नँ , फेरि त्यो दिन सम्झन चाहन्नँ। आईपीएलमा मलाई मनपर्ने त कोलकाता हो, पश्चिम बंगालसँग भावनात्मक सम्बन्ध पनि छ, तर नजिते पनि दिल्लीबाहेक अरूको समर्थन गर्ने कुरा आएन। भावनाभन्दा कूटनीति बलियो हुँदो रहेछ।
केजी: अब, अन्तिम प्रश्न प्रधानमन्त्रीज्यू। बजारमा तपाईं धपक्क बलेर झनझन ह्यान्सम हुँदै जानुभएको चर्चा छ। कुन साबुनले मुख धुनुहुन्छ? आज सबैलाई बताइदिनुस्। जनता जान्न चाहन्छ।
पीकेडी: तपाईंले कुरोग्राफर भनेर परिचय दिनुभयो, तर हाउभाउ, शैली अर्कैको छ। एकपटक मास्क हटाउनुस् त।
केजी : त्यो पर्दैन प्राइम मिनिस्टरज्यू। बताइदिनुस् साबुनबारे…
पीकेडी : (कुम हल्लाएर मुस्कुराउँदै)... पुँजीवादीहरूले षड्यन्त्र गरेर बदनाम गर्ने कुतसित मनसायले मलाई सुकिलामुकिला सामन्तवादको अवशेष भेटिने साबुनहरू भिडाउन खोजेका थिए। ती सबै प्रयास विफल पार्दै स्वदेशमै निर्मित डल्ले साबुन नै प्रयोग गर्दै आएको छु। त्यसैले हो मुख धुने।
अस्ति नै मेरा एक्स बेस्टी केपीएसओले डल्लेविरुद्ध कुप्रचार गरेका थिए, 'डल्ले साबुन र ट्यांकर–ट्यांकर पानीले धुँदा पनि प्रचण्डको मैला गएन' भनेर। त्यसो हैन। जान्छ, त्यो बेला पनि गएको थियो। आजकल पनि जान्छ। इम्पोर्टेट साबुनले नुहाउनेले त्यसरी डल्ले साबुनको बदनामी गर्न पाइँदैन।
अन्त्यमा, मलाई ह्यान्सम देख्ने तपाईंको आँखालाई धन्यवाद। लाल सलाम।
नोट: यो ब्लग व्यंग्य हो। यस ब्लगमा उल्लेखित घटना र व्यक्ति काल्पनिक हुन्। कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
