२ हजारका नोट फिर्ता लिने भारतीय रिजर्भ बैंकको घोषणा

आरबीआईले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। भारतमा करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो।

काठमाडौँ– भारतीय रिजर्भ बैंक (आरबीआई)ले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। आरबीआईले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई हजारको नोटहरू चलनचल्तीबाट हटाउने निर्णय गरिएको जनाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार आरबीआईले सर्वसाधारणलाई दुई हजारका नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ। आरबीआईले करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो। आरबीआईले नोटहरू खिच्ने निर्णय गरे पनि तत्काल गैरकानूनी (अवैध) घोषणा गरिएको छैन। आरबीआईले वैध रहने समय सेप्टेम्बर ३० सम्म नोटहरू बैंकमा जम्मा गर्न सकिने बताएको छ।

सर्वसाधारणले आफ्नो बैंक खातामा जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर नोट साट्न सक्ने आरबीआईको विज्ञप्तिमा उल्लेख छ। आरबीआईले दुई हजारका नयाँ नोट जारी नगर्नसमेत बैंकहरूलाई निर्देशन दिएको छ। नोट सटहीका लागि सहयोग गर्न सबै बैंकलाई भनिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मे २३ देखि एक पटकमा २० हजारसम्मका नोट साट्न सकिने बताइएको छ। नोट साट्न अतिरिक्त शुल्क लाग्ने छैन।

सन् २०२३ मार्च ३१ सम्म बजारमा ३.६२ लाख करोड मूल्यको दुई हजारका नोटहरू चलनचल्तीमा रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी प्रयोग ६.७३ लाख करोड भारु बराबर भएको थियो, जुन कुल नोटको १० प्रतिशत हो।

दुई हजारका नोट पहिलोपटक सन् २०१६ नोभेम्बरमा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो। सोही वर्षको नोभेम्बरमा अचानक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजार र पाँच सय रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए। त्यसपछि सरकारले दुई हजारको नयाँ नोट जारी गरेको थियो। 

साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८–१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो। आरबीआईका अनुसार दुई हजारका ८९ प्रतिशत नोट २०१७ मार्चअघि जारी गरिएको थियो।