आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेकाले आफ्नो आगामी भ्रमण ऐतिहासिक हुने प्रधानमन्त्री दाहालले बताएका छन्। 

फाइल तस्वीर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताएका छन्।

भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणबाट सम्बन्ध विशिष्ट रहेकाले भ्रमणको विशेष महत्त्व रहेको उनको भनाइ छ।

शनिबार काठमाडौँमा कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको एकता र परिवर्तन रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गरे।

“यो परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु,” उनले भने, “हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन दलहरूबीच छलफल भइरहेको छ।”

शीर्ष नेताबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदीय समिति, संक्रमणकालीन न्याय र  गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न केन्द्रित हुने गरेको उनले स्पष्ट पारे। 

सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो।