कोलकातालाई १ रनले हराउँदै लखनऊ प्लेअफमा

इडेड गार्डेनमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १७५ रन मात्रै बनाएपछि अखनऊ रोमाञ्चक जीतसहित प्लेअफमा पुगेको छ।

काठमाडौँ– लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

गएराति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई १ रनले हराउँदै लखनऊले प्लेअफमा स्थान बनाएको छ।

इडेड गार्डेनमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो। कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो। रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरे पनि टोलीको झिनो हार टार्न सकेनन्।

सानदार प्रदर्शन गरेका रिंकु ६७ रनमा नटआउट रहे। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए। ओपनर जेसन रोय ४५ रनमा आउट भए। 

लखनऊका रवि विश्नोई र यश ठाकुरले २/२ विकेट लिए। क्रुनाल पान्ड्या र कृष्णाप्पा गौथमका नाममा १/१ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

लखनऊका निकोलस पुरनले ५८ रन बनाए। उनले ३० बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। क्विन्टन डि कक २८, प्रेरक माकांड २६ र आयुष बदोनी २५ रन बनाएर आउट भए। 

कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव आरोराले २/२ विकेट लिए। लखनऊ ८ जित र ५ हारसहित १७ अंककासाथ तेस्रो स्थानमा छ।