भुटानी शरणार्थी प्रकरण: ३३ जनाविरुद्ध २६ करोड बिगो दाबीसहित प्रतिवेदन बुझाइँदै

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ।

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध २६ करोड बिगो माग दाबीसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

मुद्दाको अनुसन्धान सकेर ५५औँ दिनमा प्रहरीले आइतबार प्रतिवेदन बुझाउन लागेको हो। प्रहरीले यो प्रकरणमा पक्राउ परेका १६ जना र पक्राउ पर्न बाँकी थप १७ जनालाई प्रतिवादी कायम गरेको छ।

पक्राउ परेका र पर्न बाकी रहेकाविरुद्ध संगठित ठगीसहित थप अन्य कसुरमा पनि मुद्दा चलाउन प्रहरीको राय छ। एक प्रहरी अधिकृतका अनुसार राज्यविरुद्धको अपराधमा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाँण, पुर्वगृहसचिव टेकनारायण पाण्डे, राजनीतिक सल्लाहकार इन्द्रजित राई र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालविरुद्व राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिइएको छ।

ती प्रहरी अधिकृतका अनुसार यो प्रकरणमा राजनीतिक तहमा सबै कुरा मिलाउने व्यक्ति बेचन झा रहेको खुलेको छ। ती व्यक्ति अहिले फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको नाममा बिचौलिया रामशरण केसीले काटेको दुई करोड रुपैयाँको चेक समेत बरामद भएको छ।

प्रहरीले शरणार्थी प्रकरणमा नाम जोडिएका र थप प्रमाण संकलन भई नसकेकाको हकमा पूरक अभियोग दर्ता गर्नुपर्ने रायसमेत प्रतिवेदनमा समेटेको छ। एक सरकारी वकिलले प्रहरीको प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर मुद्दा दायर हुने जानकारी दिए।

“अहिले नै के कस्तो भन्ने कुरा हुँदैन। हामी मिसिल अध्ययन गर्छौँ। आवश्यक कागजात पुगे नपुगेको हेरेर निर्णय लिन्छौँ,” उनले भने