पहिला लेकतिर हजारौँ भेडाबाख्रा हुने गरे पनि,पछिल्लो समय गोठ राख्ने चलन हराउँदै गएको भेडा गोठाला बताउँछन्। युवापुस्ता लेकमा बस्न छाडेको हुँदा धेरैले घरैमा खोर बनाएर भेडाबाख्रा पाल्न थालेका छन्।
रुकुम- मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा भेडाबाख्राको बथानहरू भेटिन्छन्। अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका हुन्छन्। गत मङ्सिरमा जाडो र हिमपात छल्न बेँसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखि लेकतिर उक्लिन थालेका छन्।
औलोमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालिएको हो। ६ महिना बेँसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन्।
बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन्। बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए।
असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छन्। मध्य असारसम्म बुकीमा प्रसस्त घाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जंगलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ।
अहिले लेक चढ्न थालेका भेडीगोठाले दशैँको बेला मात्रै बेसी झर्छन्। बेला–बेलामा खर्च लिन झर्ने गोठालाले चार महिना लेकमै बिताउँछन्। यति बेला उनीहरूले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जान्छन्। बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्छन्। अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्ने मगर बताउँछन्।
यसपटक वर्खा नलाग्दै पानी परेकोले लेकमा घाँस पलाइसकेको मगरको भनाइ छ। "बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन। त्यही भएर लेकतिर लागेका छौँ। पहिले–पहिले असार लाग्ने बेला जान्थ्यौँ। यो वर्ष दुई साता पहिलै लेक जाँदैछौँ,” मगरले भने, “अहिले लेक चढेपछि आउने त अब दशैँ मान्न हो। त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन।”
तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार मिटर आसपासको उचाइमा रहेको बताए। अब केही दिनमै चार हजार २०० मिटरको उचाइसम्म भेडा लिएर जाने उनको भनाइ छ। हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको उनी बताउँछन्।
“हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो। भेडा नपाली खान लाउन पुग्दैन। यही बेचेर परिवार चलाउँदै आएका छौँ," उनी भन्छन्, "हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो। यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुना पुगेको छु।”
नयाँ पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको उनले बताए। परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको उनको भनाइ छ। पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरे पनि अहिले धेरै कम भएको विकको भनाइ छ । उनका अनुसार अहिले धेरैले भेडाबाख्रा जंगल नलगी खोरैमा पाल्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
