लुम्बिनीमाथि सुदूरपश्चिमको ७ विकेटको जित

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा, सुदूरपश्चिमले १८.२ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक योगदान दिए। उनले मात्र ४९ बलमा ५ चौका र ४ छक्कासहित ६९ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै, आसिफ शेखले ३९ रन र क्रिस लेनले १६ रन जोडेका थिए। 

लुम्बिनी लायन्सका लागि रुबेन ट्रम्पेलम्यान, अभिशेख गौतम र तिलक भण्डारीले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन र दिलिप नाथले ३१ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन-तीन विकेट लिए भने हेमन्त धामीले दुई तथा स्कट कुगेलेइजनले एक विकेट हात पारे।

यो जितसँगै सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। जारी एनपीएलमा सुदूरपश्चिम अपराजित रहने एक्लो टोली पनि बनेको छ। 

यता, लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ। दुई अंक जोडेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ। उसलाई प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब बढेको छ।

बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।