सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्।

“हाम्रो देश विविधतायुक्त रहेका हिसाबले सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानता, पारस्परिक सद्भावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ,” उनले भने। उनले विविधता मुलुकको सामूहिक सम्पत्ति भएकाले त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने जिकिर गरे। विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै उनले नेपालले पनि त्यसबाट सिकेर अतिवादीको पक्षमा लाग्न नहुने बताए।

अध्यक्ष ओलीले नेपालीलाई आपस झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सबैलाई सचेत गराए। “जनता मराएर, देश सिद्ध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने कामहरू भएका छन्। हामीले के बुझ्नु पर्छ भने अरूले भड्काई दिएको भरमा, अरूले उचालिदिएको भरमा, अरूले भावनामा बगाइदिएको भरमा उचालिनु, बग्नु हुँदैन,” उनले भने।