जसपाका वीरेन्द्र महतो वनमन्त्री नियुक्त, बुधबार शपथ

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रकुमार महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रकुमार महतो वन तथा वातावरणमन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन्।

यससँगै मन्त्रीपरिषद्ले पूर्णता पाएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ भने बुधबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। जसपाबाट अशोककुमार राई शिक्षामन्त्री छन्।