रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण, दर्जनभन्दा बढी आवासीय भवनमा क्षति

युक्रेनको खार्कोभ नजिकै रहेको बेल्गोरोड क्षेत्र पछिल्लो समय युद्धको केन्द्र बनेको छ।

तस्वीर: राेयटर्स

युक्रेनसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा मंगलबार राति ड्रोन आक्रमण भएको छ।

रुसको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभ बताएका छन्।

आक्रमणका कारण दर्जनभन्दा बढी निजी आवासीय भवनमा क्षति पुगेको तर, मानवीय क्षति भने नभएको  उनको भनाइ छ। बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको हो।

युक्रेनको खार्कोभ नजिकै रहेको अवस्थित बेल्गोरोड हालै युद्धको केन्द्र बनेको समाचार संस्था सिह्वाले जनाएको छ। एक युक्रेनी सशस्त्र बल 'सबोटेज र टोही समूह' सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रुसी पक्षले जनाएको छ।

तर, कीभले यस क्षेत्रमा अपरेसनको पछाडि दुई रुसी अर्धसैनिक समूहको हात रहेको दाबी गरेको छ। बेल्गोरोड क्षेत्र सोमबारदेखि आतंकवाद विरोधी अभियानको अधीनमा छ।