प्रतिलिपि अधिकारसमेत विवादमा परेको प्रज्ञा प्रतिष्ठानको पछिल्लो शब्दकोशमा विभिन्न शब्दका जातीय तथा साम्प्रदायिक अपमान हुने अर्थ र परिभाषा सच्याइएको छैन। बरू, उल्टै केही विशेषण थपिएका छन्।
काठमाडौँ– कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले गएको वैशाख २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई एउटा ज्ञापन-पत्र बुझायो। ज्ञापन-पत्रमा रानाभाट तथा भाट समुदायको जातीय स्वाभिमानमा आँच आउने गरी शब्दकोशमा अर्थ र परिभाषा राखिएको भन्दै सच्याउन माग गरिएको छ।
प्रज्ञा नेपाली बृहत शब्दकोशमा रानाभाट शब्द समावेश छैन। भाट शब्दका भने पाँच वटा अर्थ छन्। रानाभाट प्रतिष्ठानले यी पाँच वटै अर्थमा आपत्ति जनाएको छ।
शब्दकोशले भाटलाई गन्धर्भ जातिको एक थर भनेको छ। त्यस्तै ‘तीनलिंगे वा सोभन्दा बढीको जैसी जातले त्यस्तै जैसी वा खसकी छोरीसँग बिहे गरी जन्माएको सन्तान’ भन्ने अर्थ पनि लगाएको छ। तेस्रो अर्थ छ, “ब्राह्मणले सन्यासी जातकी नारीसँग सहवास गरी पैदा भएको सन्तान।”
भाटलाई राजामहाराजा वा ठूलाबडाको स्तुति गाएर जीविका चलाउने जाति भनेर पनि अर्थ्याइएको छ। पाँचौँ चाहिँ विशेषण छ, जसको अर्थ ‘बोलक्कड’ छ।
भूपाल राईले २०७९ फागुन ४ गते कुलपतिको शपथ लिएपछि विभिन्न शब्दहरूको विभेदजन्य अर्थ हटाउने र संशोधन गर्ने कामलाई प्राथमिकतामा राखेको घोषणा गरेका थिए। त्यही घोषणापछि रानाभाट प्रतिष्ठान ज्ञापन-पत्र बुझाउन गएको थियो।
राई कुलपति नियुक्त हुनुअघि पनि शब्दकोशका अपमानजनक अर्थ सच्याउन माग गर्दै प्रज्ञा प्रतिष्ठानमा निवेदनहरू आउने गरेका थिए। २०७९ पुस ९ गते उदयुपुर गाईघाटका शिक्षक नरेन्द्रकुमार लालले ‘कायस्थ’को अर्थ सच्याउन माग गर्दै निवेदन दिएका थिए। शब्दकोशमा कायस्थको अर्थ ‘काइते’ लेखिएको र त्यसले सामाजिक सम्मानमा ठेस पुगेको उनले बुझाएको पत्रमा उल्लेख छ।
कायस्थका पाँच अर्थ शब्दकोशमा छन्। पहिलोमा, लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम; काइते उल्लेख छ। मुनिमको अर्थ व्यक्तिगत संस्था, कोठी आदिको हिसाबखाताको काम गर्ने कर्मचारी हुन्छ। तर, काइतेको अर्थ भने नकारात्मक छ।
शब्दकोशमा काइतेको अर्थ दुई वटा छन्। पहिलो छ, लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ। दोस्रो छ, अर्कालाई अलमल्याउने; रकमी। यसको उदाहरणमा ‘काइते काम’ भनिएको छ।
लालले निवेदनमा काइते शब्दको अर्थबाट ‘वैश्य जाति’ हटाउन माग गरेका छन्। उनले परिमार्जन गरी थप्नुपर्ने दुई वटा परिभाषा पनि सुझाएका छन्। उनले सुझाएको पहिलो परिभाषा छ, “हिन्दूशास्त्र अनुसार ब्रह्माजीद्वारा ब्राह्मण, क्षेत्रीय, वैश्य, शुद्रको उत्पतिपश्चात निजहरूको जीवनको सम्पूर्ण कर्मको लेखा राख्नका लागि उत्पन्न गरिएको चित्रगुप्तका सन्तान– कायस्थ।”
उनले सुझाएको दोस्रो अर्थ छ, “सम्पत्तिभन्दा अध्ययनलाई प्राथमिकता दिई शिक्षण, प्राविधिक, लेखापढी पेसा अपनाउने थर।”
कायस्थ चार वर्णमा नपर्ने हुँदा वैश्य जाति भन्न नमिल्ने लाल बताउँछन्। “ब्रह्माजीको कायाबाट उत्पन्न भएको कारण कायस्थ भनिएको हो। ब्रह्माजीको कायाबाट उत्पन्न भएका प्रथम पुरुषको नाम चित्रगुप्त हो। कायस्थ उनैका सन्तान हुन्। चित्रगुप्त ब्रह्मांश भएको हुनाले कायस्थको वर्ण हुँदैन,” लालले भने।
कर्नाटकबाट सन् १०९७ तिर सम्रौनगढ राज्य स्थापनासँगै त्यस राज्यमा कायस्थहरू आएको लाल बताउँछन्। पछि कायस्थहरू पहाडतिर जागिर खान जाँदा ‘काइते’ भनिएको उनको भनाइ छ। यसैलाई आधार मानेर कतिपय शब्दकोशले ‘ठग’समेत लेखेको लालले बताए। एक हजार वर्षदेखि बसिरहेको जातिबारे अध्ययनबिना शब्दकोशहरूमा जथाभावी लेखिएको भन्दै उनले आपत्ति जनाए।
कश्यप गोत्रीय रानाभाटका अध्यक्ष नेपालहरि पनि इतिहास र यथार्थ नबुझी शब्दकोशमा अपमानित हुने गरी शब्द परिभाषित गरिएको बताउँछन्। ‘भाट’ राजदरबारमा दिइने उपाधि भएको उनको भनाइ छ।
भारतमा मुगल सम्राटको पालामा राजदरबारमा भाट नियुक्त गर्ने चलन रहेको रानाभाटले बताए। उनीहरूको काम राजदरबारको सूचना बाहिर प्रचार गर्ने वा कुनै काममा राजा वा दरबारका व्यक्तिलाई प्रेरित गर्ने थियो। पछि अन्य राजाहरूले पनि त्यसैको सिको गर्दा धेरै प्रकारका भाट अस्तित्वमा आएका उनी बताउँछन्।
“पृथ्वीनारायण शाहले पनि रघुवीर सिंहलाई भाट नियुक्त गरेका थिए। लडाइँमा राजा हतोत्साही भए भने रघुवीरले तत्कालै वीररसका कविता रचेर उत्प्रेरित गर्थे। त्यसैले यो जात होइन, पद हो,” उनले भने, “झ्याली पिटाएरै भाट खोजिन्थ्यो। भाट हुन वाककला राम्रो भएको हुनुपर्थ्यो। धेरै भाट ब्राम्हणबाटै नियुक्त भएका थिए। तर, फरक सम्प्रदायका थिए र उनीहरूका सन्तानले भाट नै लेख्दै जाँदा धेरै गोत्रका भए।”
शब्दकोशमा भनेजस्तो गन्धर्भहरूको थर भाट भएको आफूले थाहा नपाएको पनि उनले बताए। २०७५ सालमा प्रकाशित १०औँ संस्करणको बृहत शब्दकोशमा पनि भाटलाई गन्धर्भ जातिको थर भनिएको छैन। बृहत शब्दकोशको सट्टा गंगाप्रसाद उप्रेती कुलपति हुँदा २०७९ सालमा ‘प्रज्ञा नेपाली बृहत शब्दकोश’ नामको नयाँ शब्दकोश प्रकाशित गरिएपछि भाटलाई गन्धर्भको थरको रूपमा समेत परिभाषित गरिएको हो।
राना भनेको भाटलाई सम्मान गरेर बोलाउँदा थपिएको मुख्य व्यक्ति जनाउने विशेषण भएको उनले बताए। यो शब्द पनि शब्दकोशमा राख्न उनको सुझाव छ।
बैरागी काइँला प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा पनि आफूहरूले ज्ञापन-पत्र बुझाएको, तर सुनुवाइ नभएको रानाभाटले बताए। “उहाँले (बैरागी काइँलाले) रियलाइज गर्नुभएको थियो। संशोधन गर्ने वचन पनि दिनुभएको थियो। तर, किन संशोधन भएन भन्ने थाहा पाउन सकिएन। त्यसैले फेरि संशोधनको माग राखेर एकेडेमी पुगेका हौँ,” उनले भने।
शब्दकोशमा जातीय अपमान कति कति!
शब्दकोशमा अहिले पनि जातीय विभेद जनाउने र अपमानित हुने गरी शब्दको अर्थ र परिभाषाहरू दिइएको छ। बादीको परिभाषा नाचगान तथा यौनव्यापारबाट जीविका गर्ने परम्परागत पेसा भएको जाति भनिएको छ। जबकि, नेपालमा यौनव्यापार गैरकानूनी छ।
त्यसैगरी, डुम शब्दको अर्थ ‘दलित जातिका निम्ति प्रयोग गरिने हेय शब्द’ र ‘चाण्डाल जाति’ उल्लेख छ। चाण्डाललाई चण्डाल पनि भनिएको छ र त्यसको अर्थ ‘नीच र घृणित जाति वा त्यस जातिको मानिस’ भनिएको छ। ‘दुष्कर्मी, दुष्ट, क्रुर काम गर्ने व्यक्ति’ पनि भनिएको छ।
डोमलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने जाति भएको उल्लेख छ। डोम शब्दलाई बिगारेर ‘डोमे’ विशेषण बनाइएको छ, जसको अर्थ डोमसम्बन्धी वा डोमको वा डोमलाई दिइने (अनाज, पैसा आदि) उल्लेख छ।
भाट शब्दको अर्थका आधारमा अर्को नाम ‘भाटगिरी’ बनाइएको छ, जसको अर्थ ‘स्तुतिगान गर्ने काम’ लेखिएको छ। रानाभाट प्रतिष्ठानका अध्यक्ष नेपालहरि, नेताहरूले भाषणमा बारम्बार ‘भाटगिरी’ शब्द प्रयोग गर्दा आफूहरूले अपमानित महसुस गर्ने बताउँछन्।
प्रज्ञाकै शब्दकोशमा खवासलाई ‘नेपालीको एक थर’ लेखेपछि लगत्तै ‘शरीरको सेवा गर्ने नोकर; परिचर’ लेखिएको छ। हायुको विशेषण धेरै खाने, खन्चुवा भएको उल्लेख छ।
कसाईको विशेषण निर्दयी, निष्ठुर, वधिक, घाती भनिएको छ। संस्कृतको वधिकलाई नेपालीमा बधिक भनिएको छ र त्यसको अर्थ ज्यान मार्ने वा हत्यारो भनिएको छ।
नेवा देय दबूका पूर्वमहासचिव माइलाबाबु देउला कसाई, पोडे र च्यामेको अर्थ गलत ढंगले शब्दकोशमा राखिएको बताउँछन्। नेपाली बृहत शब्दकोशको १०औँ संस्करणमा पोडेलाई ‘नेवार जातिको एउटा निम्न वर्ग, फोहरमैला आदि सफा गर्ने जाति, चाण्डालको एक भेद’ उल्लेख छ। पोडेलाई डुम शब्दको अर्थमा प्रयोग गरिएकै चाण्डाल शब्द प्रयोग गरिएको हो।
कसाई, पोडे, च्यामेलगायतलाई दलितभित्र पारेर शब्दकोश तयार पारिएको र राष्ट्रिय दलित आयोगले पनि ती थरलाई दलितको सूचीमा राखेपछि आफूहरू सर्वोच्च अदालत गएको देउला बताउँछन्। उक्त मुद्दामा ‘हत्यारो’ जस्ता अर्थ सच्याउन पनि माग गरिएको थियो।
“नेवारमा दलित वा अछुत भनिने जात हुँदैन,” देउलाले भने, “विगत कालखण्डमा कामको विभाजनका आधारमा जात नामकरण गरिएको कुरा छ, तर यो हिन्दुस्तानबाट पसेका खसआर्य समुदायले गरेको हो। उनीहरूले कसाईलाई गिज्याउने गरी अर्थ राखे। त्यसकारण दलितको सूचीबाट हटाउन माग गरेर अदालत गएका थियौँ।”
सर्वोच्चले नेवारका थरलाई सूचीकरण नगर्न राष्ट्रिय दलित आयोगलाई आदेश दिएको थियो। त्यस्तै, ‘हत्यारो’जस्ता अपमानजनक अर्थ हटाउन पनि आदेश दिएको थियो। ती अर्थ सच्याइएको भनेर आफूहरूले जानकारी पाएको, तर अहिले के लेखिएको छ भन्ने थाहा नभएको खड्गी सेवा समाजकी अध्यक्ष अन्जिता खड्गी बताउँछिन्। “हामीले मुद्दा हालेको हो र फैसला पनि भएको हो। मैले सच्चिएको जानकारी पाएको थिएँ। तर, यसभन्दा बढी जानकारी मैले समितिसँग छलफल नगरी दिन मिल्दैन,” खड्गीले उकालोसँग भनिन्।
शब्दकोशमा अझै पनि कसाईको विशेषण ‘वधिक; घाती’ लेखिएको छ। अदालतको फैसलापछि सच्याउनुको साटो प्रज्ञा नेपाली बृहत शब्दकोशमा निर्दयी र निष्ठुर विशेषण थप गरिएको छ, जुन २०७५ सालको बृहत शब्दकोश १०औँ संस्करणमा छैन। यद्यपि, नयाँ शब्दकोशमा पोडे र च्यामेको अर्थ सुधार गरिएको छ।
प्रज्ञा नेपाली बृहत शब्दकोश पहिलो संस्करणका विशेष सम्पादक तथा पूर्वप्राज्ञ हेमनाथ पौडेल एउटै शब्दका विभिन्न अर्थ आउने हुँदा थरलाई नै अपमानित गरको भनेर बुझ्न नहुने जिकिर गर्छन्। “हामी एकेडेमीमा हुँदा पनि भाटको अर्थ सच्याउन माग गरेर रानाभाटहरू आउनुभएको थियो। अरू पनि आएका थिए होलान्,” पौडेल भन्छन्, “एउटै शब्दका विभिन्न अर्थ हुन्छन्। समाजमा प्रचलित अर्थ भए शब्दकोशमा राखिन्छ। त्यो अर्थले मलाई नै भनेको हो भनेर कसैले बुझ्न मिल्दैन।”
तर, अपमानजनक तरिकाले राखिएका अर्थ र परिभाषा हटाइएको वा संशोधन गरिएको उदाहरण पनि छन्। कति त शब्दै पनि हटाइएको छ। १०औँ संस्करणसम्मको नेपाली बृहत शब्दकोशमा कुसुन्डो शब्द राखिएको छ। उक्त शब्दको अर्थ ‘काठमाडौँको पश्चिम–दक्षिणको जंगली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति। असभ्य। धुस्रोफुस्रो र नांगो भुतुंगो’ उल्लेख छ। तर, यो शब्द पौडेलसमेत सम्पादक भएको प्रज्ञा नेपाली बृहत शब्दकोशको पहिलो संस्करणमा हटाइएको छ। कुसुन्डा शब्द मात्र राखेर त्यसको अर्थ ‘नेपालको रापती क्षेत्रको जंगलमा बस्ने घुमन्ता जाति’ उल्लेख छ।
डोम, पोडे लगायतलाई यसअघि लेखिएको ‘डुम, चाण्डाल’ अर्थ पनि अहिले हटाइएको छ। नेपाली बृहत शब्दकोश भएको शब्द ‘पोडे मल’ (जसको अर्थ ‘गुहुको मल’ थियो) भने नयाँ शब्दकोशमा जस्ताको त्यस्तै छ। अनागरिकको एउटा अर्थ ‘पाखे वा गाउँले व्यक्ति’ लाई सच्याएर अहिले ‘नगरबाहिरको गाउँले व्यक्ति’ बनाइएको छ।
नयाँ शब्दकोशमा सतार शब्दको विशेषणमा कसैलाई नटेर्ने, उन्मत्त भनिएको छ। यसअघि राखिएको ‘लाज नभएको नकच्चरो’ परिभाषा भने हटाइएको छ।
प्रतिलिपि अधिकार विवादमा नयाँ शब्दकोश
तत्कालीन कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकालको अन्त्यतिर २०७९ सालमा प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत शब्दकोश’ नामको नयाँ शब्दकोश प्रकाशन गर्यो। यो शब्दकोश २०४० सालदेखि प्रकाशन गरिरहेको बृहत शब्दकोशकै निरन्तरता होइन। २०४० सालदेखि प्रकाशन भइरहेको र १०औँ संस्करण नै अन्तिम भएको नेपाली बृहत शब्दकोश निर्माणमा योगदान दिने सम्पादकहरूको नाम नयाँ शब्दकोशबाट हटाइएको छ।
प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रा. बालकृष्ण पोखरेल सम्पादक मण्डलको निर्देशक, डा. वासुदेव त्रिपाठी र डा. वल्लभमणि दाहाल विशेष सम्पादक र कृष्णप्रसाद पराजुली सम्पादक रहेको नेपाली बृहत शब्दकोशको प्रकाशन गरेको थियो। त्यसपछिका हरेक संस्करणमा पहिलो संस्करणदेखिकै सम्पादकहरूको नाम उल्लेख गर्ने गरिएको थियो।
नयाँ शब्दकोशको प्रधान सम्पादक तत्कालीन कुलपति गंगाप्रसाद उप्रेती छन्। विशेष सम्पादकहरूमा प्राडा चूडामणि बन्धु, प्राडा माधवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद भट्टराई, प्रा. जगत्प्रसाद उपाध्याय र प्राडा हेमनाथ पौडेल छन्। यज्ञेश्वर निरौला सम्पादक छन्।
प्रज्ञा नेपाली बृहत शब्दकोश निर्माणको निर्णय २०६७ सालमा तत्कालीन प्राज्ञ परिषद्ले गरेको उप्रेतीले ‘कुलपतिको मन्तव्य’मा उल्लेख गरेका छन्। त्यति बेला प्रतिष्ठानका कुलपति बैरागी काइँला र उपकुलपति उप्रेती नै थिए। शब्दकोश निर्माण गर्ने भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग प्रमुख पनि उप्रेती नै थिए।
शब्दकोश प्रकाशन गर्दा भाषा विभागका प्रमुख रहेका हेमनाथ पौडेल आफूहरूले २०६७ सालको प्राज्ञ परिषद्को निर्णय कार्यान्वयन मात्र गरेको बताउँछन्। “शब्दकोश निर्माण गर्ने प्रक्रिया यही हो, २०४० सालमा नयाँ शब्दकोश बनाउँदा पनि २०१९ सालमा योगदान गर्नेको नाम राखिएको थिएन। अहिले, २०४० सालमा योगदान गर्ने सबैको मृत्यु भइसकेको छ, उहाँहरूसँग सल्लाह गर्न सम्भव भएन,” पौडेलले भने।
कुनै समूह वा सम्प्रदायले आपत्तिजनक ठानेका अर्थ पनि अहिले तत्काल सच्याएर छाप्न नसकिने उनी बताउँछन्। “तत्काल एपमा मात्र सच्याउन सकिन्छ, त्यो अहिले नयाँ आउनेले गर्ने हो। तर, हामीलाई सोधेर मात्र गर्न सकिन्छ,” पौडेलले भने।
तर, उक्त एपको नियन्त्रण अहिलेसम्म पनि प्रज्ञा प्रतिष्ठान मातहत नआएको सदस्यसचिव धनप्रसाद सुवेदीले जानकारी दिए।
तत्कालीन परिषद्ले एप बनाउन निजी कम्पनी ‘नयाँ यात्रा प्रालि’लाई जिम्मा दिएको थियो। उक्त कम्पनीका शिरिष पाण्डेको नेतृत्वमा एप बनेको हो। आफूहरू आइसकेपछि खोजी गर्दा कम्पनीका प्रतितिधि बल्ल सम्पर्कमा आएको सुवेदीले बताए।
“मुख्य व्यक्ति जर्मनी पुगेका रहेछन्। हामीले खोजी गरेपछि कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका छन्। एप कम्पनीकै नियन्त्रणमा छ,” सुवेदीले भने, “त्यसको प्राविधिक काम बाँकी छ वा सकियो भन्ने जानकारी लिएपछि परिषद्बाट निर्णय गरेर सच्याउने काम शुरू हुन्छ।”
तत्कालीन कुलपति उप्रेतीले प्रज्ञा नेपाली बृहत शब्दकोश यसअघि प्रतिष्ठानबाट २०१९ सालमा प्रकाशित नेपाली शब्दकोश र २०४० सालमा प्रकाशित नेपाली बृहत शब्दकोशकै जगमा तयार पारिएको उल्लेख गरेका छन्। उनले ‘मन्तव्य’मा जनाएअनुसार बृहत शब्दकोशको पहिलो संस्करणमा करिब ६२ हजार शब्द थिए। १०औँ संस्करणसम्म आइपुग्दा करिब दुई हजार शब्द थपिएका थिए। तीसहित प्रज्ञा नेपाली बृहत शब्दकोशमा एक लाख २८ हजार ३४४ शब्द राखिएको छ। यसपटक नेपालमा विभिन्न जातजातिले बोल्ने भाषाका शब्दसमेत थपिएको छ।
२०४० सालमा नयाँ शब्दकोश आउँदा नेपालमा प्रतिलिपि अधिकार ऐन थिएन। प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कुनै पनि रचनाको दुई प्रकारका अधिकार हुन्छन्, आर्थिक र नैतिक। दफा ६ को उपदफा २(ख) मा कुनै व्यक्ति वा संस्थाको सक्रियता वा निर्देशनमा तयार गरिएको भए आर्थिक अधिकार तिनै व्यक्ति वा संस्थाको हुने उल्लेख छ। जसअनुसार शब्दकोशको आर्थिक अधिकार प्रज्ञा प्रतिष्ठानसँग भए पनि दफा ८ को उपदफा (१) बमोजिम नैतिक अधिकार पहिलो संस्करणका सम्पादक मण्डलसँग हुन्छ।
उक्त उपदफा बमोजिम शब्दहरू थपिएर प्रकाशन गरिए पनि मूल लेखकको नाम उल्लेख गर्नुपर्ने हुन्छ। उपदफा (२) बमोजिम मूल लेखकको निधन भए, इच्छाएको व्यक्तिमा नैतिक अधिकार रहन्छ। कसैलाई इच्छाएको छैन भने पनि दफा १४ को उपदफा १ अनुसार मृत्यु भएको ५० वर्षसम्म नैतिक अधिकार कायम रहन्छ।
तर, आफूहरूले व्यक्तिगत रूपमा काम गरेको नभई प्रज्ञा प्रतिष्ठानले संस्थागत गरेको हुनाले एउटै संस्थामा प्रतिलिपिको विषय नतानिने नयाँ शब्दकोश विशेष सम्पादक पौडेलको दाबी छ। वर्तमान प्रज्ञा प्रतिष्ठानले शब्दकोश परिवर्तन वा संशोधन गर्दा भने आफूहरूलाई ‘सोध्नुपर्ने’ उनले बताए।
यता, कुलपति भुपाल राई शब्दकोशमा योगदान गरेको अघिल्लो पुस्ताको नाम हटाउनु उचित नभएको भन्दै ती नाम थप्न कसैलाई सोध्नु नपर्ने बताउँछन्। ६४ हजार शब्दको संकलन र सम्पादन गर्नेहरूको नाम हटाउनु उचित नभएको राईको भनाइ छ।
“उहाँहरूको नाम मेट्नु भनेको एउटा ठूलो इतिहास र विरासत मेट्नु हो। त्यो मेट्ने अधिकार पछिल्लो पुस्तालाई छैन र गर्न पनि हुँदैन,” कुलपति राईले भने, “ती नामहरूलाई उल्लेख गर्दा नै शब्दकोशको गरिमा बढ्छ।”
गलत ढंगले परिभाषित गरिएका शब्दहरूको अर्थ पनि तत्काल सच्याउन आवश्यक भएको हुनाले आफूहरूले शब्दकोश परिमार्जनको योजना सार्वजनिक गरेको राईले बताए। प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा जेठ १२ गते सार्वजनिक भावी कार्ययोजनामा पनि शब्दकोश परिमार्जनको विषय उल्लेख छ।
“चार हजार वर्षअघि कुन समुदायलाई के भनिन्थ्यो र केका आधारमा परिभाषित गरियो भन्ने सन्दर्भ अब समयानुकूल हुँदैन। ती अर्थ र परिभाषाले कुनै समुदायको भावनामा चोट पुग्छ र सामाजिक अपमान हुन्छ भने हटाउने र सच्याउने गर्नुपर्छ। पुरानै चस्माले हेरेर हुँदैन। त्यो काम हामी गर्छौं,” कुलपति राईले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
