दुई दशक अगाडिसम्म महिलाहरू प्राय: घरायसी श्रमिक र सेविकाको भूमिकामा देखिन्थे। तर, अहिले केही हदसम्म बदलाव आएको छ। सार्वजनिक जीवनमा महिलाको उपस्थिति बढेको छ।
एक शिक्षिकाले 'बेबी सावर'को कार्यक्रम विद्यालयमै गरिन् भन्ने समाचार आयो। घरमा अन्य कामका कारण नभ्याएर वा विद्यालयका साथी शिक्षकहरूको अनुरोधका कारण पनि विद्यालयमै सो कार्यक्रम गर्ने अवस्था बन्यो होला भनेर सोच्न सकिन्छ। थपिएका संस्कृतिले समाजमा यति बिघ्न जरो गाड्दै रहेछ कि जस्तोसुकै स्थान र परिस्थितिमा पनि कार्यक्रम गरेर खुसी बाँड्न चाहन्छन् यस युगका नयाँ आमाहरू। गर्भवती अवस्थामा विद्यालयको कक्षाहरू सकेर साथीहरूमाझ आफ्नो गर्भावस्थालाई 'सेलिब्रेट' गरेकै कारण ती शिक्षकप्रति अनुचित टिप्पणी गर्नु आवश्यक नहोला। बरु, 'भुँडी बोकेको' कुरालाई सार्वजनिक गर्ने विषयले गर्भधारणप्रतिको पुरानो जड मान्यता भत्कन थालेको पनि बुझ्न सकिन्छ।
यता, समाज र चोकमा कतिपय महिलाहरू 'माता' बनेर जगतकै भाग्य र भविष्यको ठोकुवा गरिरहेका छन्। यसैबीच, तराईको कुनै सीमान्त परिवारमा एक किशोरीले र पहाडको पखेरामा अर्की युवतीले आत्महत्या गरेका छन्। तिनका परिवार लाचार हुँदै भन्दै छन्, "यत्ति नै रहेछ त्यसको भागभोग। त्यसलाई देवी चढेको थियो। आखिर देवीले नै लगिन्।"
उता, राम्रा शिक्षालयमा शिक्षाको अवसर पाएका महिलाहरू छाउपडीको छुवाछुतलाई सामान्य मानिरहेछन्। टिकटकमा 'माता'हरूको उडन्ते उपस्थिति उत्तिकै बाक्लो छ। "कसैले विश्वास गर्छन् भने किन अरूले टाउको दुखाउनु?" भन्दै मातासँग आफ्ना नसुल्झेका जीवनका पहेली सुल्झाउन कमेन्टमा झुत्ती खेल्ने महिला पनि प्रशस्त छन्। भलिभाँती हाउभाउ र कलासहित महिलाहरू आफूलाई 'एक्सप्रेस' गरिरहेका छन्। 'मुन्नी बदनाम हूई'देखि 'झुम्का कसले किन्दियो'मा लिप्सिङ दिइरहेका छन्। यस्तो लाग्छ, यस युगमा महिलाहरू मग्न र स्वतन्त्र हुन चाहिरहेछन्।
सामाजिक सञ्जालमा 'सेलिब्रिटी बलात्कारी'हरूबारे अझै चर्चा छ। बलात्कारको अभियोग लागेर कानुनी दायरामा तानिएका तिनका पक्षमा र बलात्कार पीडितको विपक्षमा बोल्ने मात्रै नभएर गालीगलौजमै उत्रने महिलाको संख्या उल्लेख्य देखिन्छ। यसैबीच, मिटर ब्याजले आक्रान्त परिवारका आमाहरू काखे नानी च्यापेर तराइदेखि हिँडेरै काठमाडौँ आइपुगे। बरु यसलाई सचेतनाको एक हिस्सा मान्ने कि?
दुई दशक अगाडि परिवारमा प्राय: महिला घरायसी श्रमिक र सेविकाको भूमिकामा देखिन्थे। श्रीमतीलाई 'थान्कामा नराखे पुरुषको इज्जत जाने' मान्यता थियो। तर अहिले केही हदसम्म बदलाव आएको देखिन्छ। सार्वजनिक जीवनमा उपस्थिति बढेको देखिन्छ। जागिरे महिलाको शंख्या पनि बढेको छ।
शहरबजारको उकुसमुकुसमा महिलाहरू टोलका मन्दिर, तिर्थस्थतलिर भजन कीर्तनमा भेटिन्छन्। टोल समूह, वन समूह, सहकारी संस्था, टोल विकास समूह तथा आमा समूहमा पनि महिलाको बाक्लो सहभागिता देखिन्छ।
मेरै आँखा अगाडि भएको परिवर्तन हेर्दै छु। निरक्षर तर जीवनप्रति सधैं संघर्षशिल र सकारात्मक मेरी आमाका परिवर्तन हेरिरहेको छु। लवाइ र खवाइमा परिवर्तन भएका छन्। कतिपय रुग्ण मान्यता भत्किरहेका छन्। समयलाई पछ्याउँदै सकारात्मक गतिमा हिँड्नु पक्कै परिवर्तन हो। तर त्यस्तो परिवर्तनको मात्रा कति हुनुपर्ने हो? एउटा जीवन सकिइसकेपछि मात्र अर्को पुस्ताले झिनो परिवर्तन देख्न पाउनु परिवर्तन हो या ठूला र जवर्जस्त बदलाव नै परिवर्तन हुन्?
शहरमा होस् कि गाउँमा, श्रम गरेरै आफ्नो र परिवारको पेट पाल्न अभ्यस्त महिलाहरू छन्, जो आफ्नो नियमित शारीरिक थकानसँगै जीवन गुजारा गरिरहेका छन्। उनीहरूको श्रम कतै घाँसको भारीमा प्रकट हुन्छ, कतै टेम्पोको स्टेरिङमा। कार्यालयका 'टेबल वर्क' भ्याई वरी घरायसी काम पनि फत्ते गर्ने जिम्मामा पनि उनीहरूका श्रम प्रकट हुन्छन् नै।
तुलनात्मक रूपमा विगत ५०/६० वर्षयता महिलाहरूको सामाजिक,आर्थिक, राजनीतिक पक्षमा प्रगति नै भएको मान्न सकिन्छ। महिला सशक्तीकरणको परिभाषालाई अझ राम्रोसँग केलाउने हो भने महिलाको आर्थिक, सामाजिक र राजनीतिक स्तरोन्नतिको पक्षलाई सशक्तीकरणले प्रतिनिधित्व गर्दछ।
'महिला सशक्तीकरण' शब्दले पुरुषचाहिँ जन्मजात नै सशक्त हो र भन्ने प्रश्न पनि उठ्छ। तर सशक्तताको अवस्थालाई ख्याल गर्ने हो भने महिला मुद्दालाई अझै लामो समयसम्म आन्दोलनको हिस्सा बनाउनुपर्ने देखिन्छ। लैंगिक हिसाबले महिलाहरूले संस्थागत विभेद इतिहासदेखि नै भोगिरहेको कुरा विश्वव्यापी सत्य हो। महिलाको स्वाभिमान, आत्मविश्वास, निर्णय तह सहभागिता र उनीहरूको परिवर्तनको लागि क्रान्तिका अधिकार पनि महिला सशक्तीकरण अन्तर्गत नै पर्छन्।
महिलाहरू जो मनोवैज्ञानिक रूपमा सशक्त भएका हुन्छन्, उनीहरूले परम्परागत र पितृसत्तात्मक 'टबु'मात्र नभई सामाजिक बन्धन पनि तोड्न सक्छन्। महिला जब शिक्षा प्रणाली, राजनीतिक समूह र न्यायिक क्षेत्रमा प्रवेश गर्दछन्, विभिन्न स्थानको भ्रमण गर्छन्,जमिन र सम्पत्तिमा स्वामित्व लिन्छन्, उनीहरूले मनोवैज्ञानिक र साँस्कृतिक रूपले नै आफूलाई स्वतन्त्र र सशक्त महसुस गर्नेछन्।
महिला आफ्नो चेतना स्तर उकास्छन्, आफ्ना संघर्षबाट सिक्छन्, त्यसलाई राजनीतिक तथा आर्थिक समस्यासँग जोड्ने काम पनि गर्छन्। महिलाको व्यक्तिगत विकास मात्र नभई सामाजिक संयन्त्रहरूसँगको तिनको समन्वय र सम्बन्ध पनि महिला सशक्तीकरणको अपरिहार्य औजार हो। महिला विकासमा भए गरेका र आगामी दिनमा गरिने हरेक क्रियाकलापसँग सबै खाले महिला परिचित हुनुपर्छ।
आमा, गृहिणी, श्रीमती र दिदीबहिनीहरू देशकै शक्ति सम्बन्धमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर त्यहाँ महिलाको सहभागिताको अनिवार्यताको अवधारणाले काम गर्नुपर्छ। त्यसका लागि सबैमा पर्याप्त लैंगिक संवेदनशीलता आवश्यक हुन्छ, जुन हाम्रो समाजमा अझै छैन।
महिलालाई एकातिर समाजमा विशिष्ट भूमिका निर्वाह गर्नु त छँदै छ, विद्यमान पितृसत्ता र उपभोक्तावादको अन्तर्य पनि पर्गेल्नु छ। महिलाले आफ्नो शैक्षिक, आर्थिक र सामाजिक हैसियत बढाउँदै गर्दा कुसंस्कार,कुरीति र महिलामाथि हुने विभेदबारे मिहिन रूपमा केलाउँदै अगाडि बढ्न सक्ने दार्शनिकका रूपमा उनले आफूलाई विकास गर्नुपर्छ। उसो त पित्तृसत्ताले 'संस्कृति'मा महिलालाई बढी नै भूमिका दिएको छ। कतिपय संस्कृति जोगाउने जिम्माकै कारण पनि महिलाले आफूलाई एक मानवको रूपमा फराकिलो गरी अघि बढाउन असफल भइरहेका छन्।
हरेक समाजको मूल्य मान्यता, धर्म, विश्वास फरक हुन्छन्। कतिपय शब्द र व्यवहार अनि सोच हाम्रो मस्तिष्कमा यसरी गढिसक्यो कि हामी तिनलाई समीक्षा गर्नै चाहँदैनौँ। प्रकृतिमा विविधता छ, तर प्रकृतिकै बीच भेदभाव चाहिँ छैन। तर समाजले समाजकै अन्य समुदाय या व्यक्ति व्यक्तिबीच भेदभाव गर्न सिकाउँछ। यदि समाज र प्रकृतिलाई अलग गरेर हेर्यौँ भने समाजले असमानतालाई प्रकृतिकरण गरेको र प्रकृतिले विविधतालाई पनि एकीकृत गरेको देख्न सकिन्छ।
लैंगिकताको सवालमा बहस गर्दा हामीले यी सवाल ख्याल गर्नु आवश्यक छ। बाल्यकालमा तपाईंको परिवारमा लैंगिकता के थियो र अहिले के छ? महिला हुनु र पुरुष हुनुले तपाईँको जीवनमा घटेका दुखदायी घटना के के थिए? यी र यस्ता घटना-व्यवस्थालाई चुनौती दिएका उदाहरण छन्?
हामीले कहिल्यै असमानताको, विभेदको इतिहासको, यथार्थको लडाँईको र विजयको बारेमा गहिराइमा पुगेर सोचपूर्वक मन्थन गरेका या अधिकारका लागि लडेका छौं? यी ज्ञानले हामीलाई अरूलाई सूचना प्रवाह गर्न तथा आफ्नो धारणा मजबुत बनाउन या निर्माण गर्न पनि मद्दत पुग्दछ।
लैङ्गिकताको बहसमा मानव इतिहासको कुरा आउँछ। व्यक्तिगत सम्पत्ति र उद्योगधन्दाको विकासको कुरा आउँछन्। विश्व साम्राज्य, पितृ सत्ता, पुरुषत्व अनि पुँजीवाद र असमानताको कुरा पनि आउँछन्। पितृ सत्ता भन्दा बाउप्रति र पुरुषत्व भन्दा सम्पूर्ण पुरुष अस्तित्वकै विरुद्धको अवधारणा बोकेको ठान्ने पनि छन्। यसो गरेर महिलाहरूले समाज भाँडेको र नैतिकता बिथोलेको भन्ने भान कतिपयलाई पर्न सक्छ।
प्रकृति पद्धति दुई प्राणी महिला र पुरुषमध्ये पुरुष मात्रै शक्तिमा हाबी भएर पितृसत्ता निर्माण हुन पुगेको हो। यो व्यवस्था झन्डै ४ हजार वर्ष पहिलेदेखि नै सञ्चालित छ। तर हत्तपत्त हामीहरू यो कुरा मान्दैनौँ। किनभने पितृ सत्ता स्वयं पनि यो असन्तुलनका कारण मर्कामा छ। अर्को कुरा, उसले बनाएको भाष्यले महिलालाई पीडित ठान्ने कुरा पनि भएन।
लिंगभेदको कुरा महिलाको मात्रै होइन। यो विषयले पुरुष पनि उत्तिकै समस्यामा परेका हुनाले यो असन्तुलनलाई बुझ्दा सबैलाई सहज हुन्छ। तर खास गरेर महिलाहरूले महिलाको इतिहास, महिलाको जैविक अवस्था, सामाजिक संरचनाले महिलामाथि गरेको राजनीति बुझ्न र समीक्षा गर्न आवश्यक छ। तर साथ त पुरुषको पनि उत्तिकै चाहिन्छ। किनभने महिला स्वतन्त्र र आत्मनिर्भर नहुँदा पुरुषले पनि त्यसको बोझ त उठाउनै परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
