चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै राजस्व संकलन हुने अनुमान भएको बताए।

काठमाडौँ- चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै राजस्व संकलन हुने अनुमान भएको बताए।

यो राजस्व गत वर्षको तुलनामा ५.९ प्रतिशतले कम हो। राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो।

वैदेशिक सहायता अपेक्षाभन्दा कम
सरकारले आगामी आर्थिक वर्षका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ। आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा. महतले बताएका छन्।

चालु आर्थिक वर्ष वैदेशिक सहायता तर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ  ऋण आउने अनुमान गरिएको थियो। दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहने छ।

तर, सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ।