प्रदेश र स्थानीय तहको बजेटमा कटौती

आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब दिने भएको छ। यो रकम गत आर्थिक वर्ष छुट्याएको रकमभन्दा कम हो।

काठमाडौँ– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा वित्तीय समानीकरण अनदुानतर्फको बजेट प्रदेशका लागि अघिल्लो वर्षको तुलनामा घटेको छ भने, स्थानीय तहको हकमा केही वृद्धी भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय तहलाई जाने बजेटको आकार परिवर्तन गरिएको हो। संघीय सरकारले आगामी आर्थिक वर्ष स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब दिने भएको छ। 

वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। आर्थिक वर्ष २०७९/८० का लागि सरकारले १ खर्ब ६१ अर्ब ६६ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको थियो। पछि प्रदेश र स्थानीय तहलाई जाने उक्त बजेट ५० प्रतिशतले कटौती भएको थियो। 

आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा वित्तीय समानीकरण अनदुानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्त्तरण गर्ने व्यवस्था गरिएको थियो। 

सशर्त अनुदान २ खर्ब २७ अर्ब ६१ करोड
अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको बताएका छन्। आर्थिक वर्ष २०७९/८० मा सशर्त अनदुानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा २ खर्ब ४० अर्ब ८९ करोड विनियोजन गरिएको थियो। 

त्यसैगरी, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड गरी जम्मा १३ अर्ब २७ करोड विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७९/८० का लागि सरकारले प्रदेश तथा स्थानीय तहलाई पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनदुान स्वरूप प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनजयोजन गरेको थियो। यो बजेट पनि अघिल्लो पटकभन्दा कटौती भएको छ।

विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ४ अर्ब ४६ करोड र ८ अर्ब ७३ करोड विनियोजन गरिएको छ। गत वर्ष प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड विषेश अनुदानतर्फ विनियोजन भएको थिया। यसको दायरा पनि नयाँ बजेटमा घटेर आएको छ। 

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जाने रकममा झिनो वृद्धि गरिएको छ। राजस्व बाँडफाँटबाट जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको अर्थमन्त्री डा. महतले बताए। अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा १ खर्ब ६३ अर्ब ३ करोड रकम हस्तान्त्तरण अनुमान गरिएको थियो।