उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारबाट अमेरिका र दक्षिण कोरिया रुष्ट, संयुक्त हवाई अभ्यास लम्बाउने

उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।

तस्वीर : एपी

उत्तर कोरियाले जापान र दक्षिण कोरियाली क्षेत्रमा बिहीबार दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेसँगै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यासको अवधि लम्बाउने निर्णय गरेका छन्।

बिहीबारको आक्रमणपछि दक्षिण कोरिया र अमेरिकाले गर्दै आएको संयुक्त हवाई अभ्यासको समयावधि थप लम्बाउने दुई देशबीच सहमति भएको छ। यसअघि संयुक्त हवाई अभ्यासको अन्तिम दिन शुक्रबार मानिएकोमा केही समय लम्बिएको दक्षिण कोरियाली हवाई बलले जनाएको छ।

अमेरिकाले उत्तरका क्षेप्यास्त्रसम्बन्धी गतिविधिलाई छिमेकी र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिको चेतावनी भनेको छ। दक्षिण कोरिया र जापानको सुरक्षाप्रतिको अमेरिकी प्रतिबद्धता अटुट रहेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताको भनाइ छ। जापानी प्रधामन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन्।

उत्तर कोरियाले यस वर्ष अत्यधिक सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ, यसले सो क्षेत्रमा तनाव निम्ताएको बीबीसीले उल्लेख गरेको छ।

कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ को अवधिभर मात्रै ६ वटा आणविक हतियार परीक्षण गरिसकेको र सातौँ हतियार परीक्षणका तयारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ। साथै, उत्तरले आफ्नो सैन्य क्षमतासमेत बलियो बनाएको छ। छिमेकी शत्रु राष्ट्र दक्षिण कोरियासँगै उत्तरले अमेरिकासम्म मार हान्न सक्ने बलिया हतियार आफूसँग रहेको चेतावनी दिँदै आएको छ।

उत्तरले अन्तर्देशीय ब्यालेस्टिक क्षेप्यास्त्रसहितका ती क्षेप्यास्त्र स्थानीय समयानुसार बिहीबार बिहान ७ बजेर ४० मिनेटतिर प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ। बीबीसीले स्रोतलाई उद्धृत गर्दै लामो दूरीको क्षेप्यास्त्र १९ सय ६० किलोमिटर उचाइमा पुगेर ७६० किलोमिटर टाढासम्म प्रहार भएको उल्लेख गरेको छ।

तर, सो परीक्षण विफल भएको हुनसक्ने दक्षिण कोरियाली सेनाको अनुमान छ। आक्रमणबाट मानवीय क्षति भने भएको छैन। जापानी आकाशमाथि उडेको अनुमान गरिएको सो क्षेप्यास्त्र पछि जापानकै सामुद्रिक क्षेत्रमाथि नै हराएको जापानी रक्षा मन्त्री यासुकाजु हामादाले बताएका छन्।

क्षेप्यास्त्र प्रहारपछि जापानका मध्य र उत्तरी क्षेत्रका बासिन्दालाई सुरक्षित रहने सूचनासहितको घण्टी बजेको थियो। तर, पछि टोकियोले सूचना गलत भएको भनेको छ। उत्तर कोरियाको सबैभन्दा लामो दूरीमा मार हान्ने क्षमताको सो हतियार अन्तर्देशीय ब्यालेस्टिक क्षेप्यास्त्र हुनसक्ने दक्षिण कोरियाली र जापानी अधिकारीहरूको अनुमान छ।

उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।