महिला उम्मेदवारलाई हतोत्साहित बनाइरहेको ‘पैसा’

पार्टीबाट ठूलो सङ्घर्षले टिकट पाएका होऊन् या स्वतःस्फूर्त स्वतन्त्र उम्मेदवारी दिएका महिला, चुनावी अभियानमा उनीहरूलाई सबभन्दा ज्यादा ‘पैसा’कै विषयले पिरोलिरहेको छ।

काठमाडौं– बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा एउटा जमघट आयोजना भएको थियो, जहाँ काठमाडौं उपत्यकाभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उम्मेदवार बनेका महिला उम्मेदवार उपस्थित थिए। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू, त्यो पनि महिलालाई मात्र निम्त्याइएको त्यो जमघट आफैँमा नौलो थियो। जमघटको उद्देश्य नै अर्थपूर्ण थियो– चुनावी अभियानका क्रममा थुप्रै चुनौती र कठिनाइ भोगिरहेका महिला उम्मेदवारहरूलाई आफ्ना कुरा राख्न सञ्चारमाध्यमसँग सहजीकरण गरिदिने।

त्यो जमघटमा उपस्थित धेरैजसो महिला उम्मेदवारले एउटा साझा कुरा उठाए। त्यो थियो, उम्मेदवार बन्नेदेखि जित निकाल्ने अभियानमा महिलाहरूले मात्र भोग्नुपरेको पैसाको कुरा जसले महिला उम्मेदवारहरूलाई सबभन्दा ज्यादा पिरोलेको रहेछ। काठमाडौं क्षेत्र नम्बर ६ ‘क’ मा कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार रहेकी काठमाडौं महानगरपालिकाकी पूर्वउपप्रमुख हरिप्रभा खड्गीले ‘चुनाव लड्न पैसा हुनैपर्ने’ भाष्यले महिला उम्मेदवारहरूलाई हतोत्साहित बनाइरहेको बताइन्। 

“महिलाहरूले टिकटको दाबी गर्दा र उम्मेदवारी दर्ता गर्दा सधैँ तेर्सिने प्रश्न हुन्छ– महिलाले पैसा नै खर्च गर्न सक्दैनन्, अनि कसरी जित्छन्? तर, वास्तविकता यो होइन।” चुनावी मैदानमा उभिएका महिलालाई मानसिक रूपमा ‘ह्युमिलेट’ गर्न यस प्रकारको भाष्य प्रयोग हुँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी डा. तोसिमा कार्कीले महिला उम्मेदवारलाई कमजोर देखाउन मात्र होइन, अवरोध गर्न पनि पैसाको प्रसङ्ग प्रयोग गरिएको गुनासो गरिन्। आफ्नै उदाहरण दिँदै उनले महिला उम्मेदवारविरुद्ध ‘साम, दाम, दण्ड, भेद’का सबै नीति अवलम्बन गरिएको बताइन्। निर्वाचन आयोगले केही दिनअघि डा. कार्कीको उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चले उनको उम्मेदवारी कायमै राख्न अन्तरिम आदेश दिएको छ। “मलाई न्याय मिल्यो, यसले अब साम, दाम, दण्ड, भेदको नीति अपनाएर मात्र पनि चल्दैन भन्ने पुष्टि गरेको छ।” 

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकै सोबिता गौतम पनि मतदाताको मत आर्थिक विषयभन्दा उम्मेदवार वा पार्टीको अजेण्डाले तय गर्नुपर्ने बताउँछिन्। “अबको निर्वाचनमा पैसा यसरी पनि खर्च हुनु भएन कि जितिसकेपछि चुनावमा गरेको खर्च संसद्मा पुगेपछि उठाउन केन्द्रित हुनुपरोस्।” मतदाताले नै यो कुरा बुझ्नुपर्ने उनको भनाई छ। 

ललितपुर–३ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी सबिता महर्जनलाई पनि पैसाले नै पिरोलेको रहेछ। तर, उनको अनुभव अलि फरक छ। सामाजिक अभियन्ता सबिता एकल महिला हुन्।  “स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदै गर्दा हामीले मिडियामा स्थान पाउन पनि पैसा दिनुपर्छ भन्ने कुरा आयो”, उनले भनिन्, “हामीले जे भनेपछि अहिले घरघरमा भोटको दाम र भोज पुगिसक्यो। हामी स्वतन्त्र र त्यसमा पनि महिलालाई निकै गाह्रो छ।”  

उनले प्रतिनिधि सभाजस्तो प्रदेश सभामा उम्मेदवार बनेकाको महत्त्व नै नभएको अनुभूति सुनाइन्। “मेरो अनुभव के हो भने पैसा बिना चुनाव जित्ने कुरा असम्भव जस्तो रहेछ”, उनले भनिन्। 

महिला उम्मेदवारको मिश्रित ‘मुड’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. तोसिमा कार्की र सोबिता गौतम यस पटकको निर्वाचनले युवा र नयाँ नेतृत्वलाई स्थान दिने दाबी गर्छन्। आफ्नो घरदैलो कार्यक्रममा पुराना पार्टीप्रतिको वितृष्णा र काम गर्ने नेतृत्वको खोजी मतदाताबाट सँगसँगै प्रकट भइरहेको उनीहरूको भनाई छ। 

महिला उम्मेदवार कतिपय अजेण्डामा प्रस्ट देखिए। जस्तो कि, सोबिताले आफूलाई संसद्मा पुर्‍याउन मतदातालाई आग्रह गरिरहँदा विकासभन्दा नीतिगत अजेण्डा मतदातामाझ राखिरहेको बताइन्। “नीति निर्माण र युवाको रोजगारी हाम्रो प्रमुख अजेण्डा हो, संसद्मा पुगे त्यसका लागि काम गर्न हामी सक्षम छौँ”, उनले भनिन्। 

सत्ता गठबन्धनबाट काठमाडौं–९ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की कल्पना धमलाले त्यो क्षेत्रको सम्पदा संरक्षणलाई आफ्नो प्रमुख मुद्दा बनाएकी छन्। “मलाई यहाँको सम्पदाको महत्त्व राम्ररी थाहा छ, त्यसमै ध्यान दिन्छु”, उनले भनिन्, “यही कारण पनि मलाई यहाँका मतदाताले विश्वास गर्नुहुनेछ।” 

यस पटक महिलाको उम्मेदवारी भने निराशाजनक छ। गत निर्वाचनको तुलनामा महिलाको उम्मेदवारी खुम्चिएर नौ प्रतिशतमा झरेको छ। बिहीबारको कार्यक्रममा त उपस्थित हुने महिला उम्मेदवारको सङ्ख्या नै न्यून रह्यो। कार्यक्रममा प्रमुख पार्टीका महिला उम्मेदवार खासै सहभागी भएनन्। स्वतन्त्र र नयाँ पार्टीका महिला उम्मेदवारको उपस्थिति भने उल्लेख्य थियो। कार्यक्रम आयोजक संस्था ‘सङ्कल्प नेपाल’की अध्यक्ष सन्देसा लामाले भनिन्, “महिला उम्मेदवारहरूमा केही डर त छ, तर पनि उहाँहरू उत्साहपूर्वक लाग्नु भएको छ। यो नै महत्त्वपूर्ण कुरा हो।”