मछिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा फर्किएको छ।
काठमाडौँ– सातदोबाटो यूथ क्लबलाई पराजित गर्दै साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा फर्किएको छ।
न्यूरोड टिम (एनआरटी)लाई २–० गोल अन्तरले पराजित गरेपश्चात् जावलाखेल यूथ क्लबसँग गोलरहित र विभागीय टोलीसँग १-१ गोलको बराबरी खेलेसँगै मछिन्द्र उपाधि होडमा पछाडि परेको थियो।
तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा सातदोबाटोलाई ३–१ गोल अन्तरले पराजित गर्यो। यस जितसँगै मछिन्द्रले शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडसँगको दूरी दुई अंकमा झारेको छ।
चर्च ब्वाइजले २३ खेलमा ११ जित र ८ बराबरीसँगै ४१ अंक जोडेको छ। समान खेल खेलेको मनाङको १० जित र ९ बराबरीसँगै ३९ अंक छ। तेस्रो स्थान रहेको जावलाखेलको ३७ अंक छ।
मछिन्द्रलाई महत्त्वपूर्ण ३ अंक दिलाउन ओलाओले अफिज एक्लैले ३ गोल गरे। उनले खेलको १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा उनले नै मछिन्द्रको अग्रता दोब्बर बनाए। ५६औँ मिनेटमा पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे।
सातदोबाटोको लागि एक मात्रै गोल जोर्डन पुन मगरले गरेका हुन्। उनले खेलको ८४औँ मिनेटमा सान्त्वना गोल गरेका थिए। ३ खेल खेल्न बाँकी रहँदा सातदोबाटो उपाधि होडबाट बाहिरिएको छ। सातदोबाटोको २९ अंक छ।
१२ खेलमा जितविहीन थ्री स्टार
च्यासल मैदानमा बुधबार नै सम्पन्न अर्को खेलमा थ्री स्टार र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्।
योसँगै थ्री स्टारको जितविहीन यात्रा १२ मा पुगेको छ। २३ खेलबाट २७ अंक जोडेको थ्री स्टारलाई रेलिगेसनको डर छ। थ्री स्टार अंक तालिकामा ११औँ स्थानमा छ।
१२औँ स्थानमा रहेको संकटालाई पनि रेलिगेसनको डर उस्तै छ। समान खेल खेलेको संकटाको पनि समान २७ अंक छ।
रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स र खुमलटारको समान २४/२४ अंक छ। उनीहरूले १/१ खेल कम खेलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
