२०७८ चैतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। त्यसपछि नियमित सञ्चालन हुने भनिए पनि हालसम्म उडान हुन सकेको छैन।
ढोरपाटन– बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। तर, विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन।
२०२२ सालमा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म नियमित सञ्चालनमा थियो। बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो।
बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो। नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो। तर, धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो।
अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरू निराश छन्। २०७८ चैतमा विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरिएको थियो। धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ। धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको सात करोड लागतमा कालोपत्र भएको थियो। विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम बढेको स्थानीय कुमार पौडेलले बताए। बलेवा क्षेत्रबाट तीव्र रूपमा भइरहेको बसाइँसराइ विमानस्थल सञ्चालनमा आए केही कम हुने पौडेलको भनाइ छ।
“बलेवा बजार शहर बन्दै छ। पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ। तर जहाज नचल्दा यहाँका स्रोतसाधन गुमनाम छन्,” उनले भने, “यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ। त्यसो भए बसाइँसराइ पनि कम हुन्छ।”
बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद भएको बताए। विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
विमानस्थलबाट २०४८ सालसम्म काठमाडौँ, पोखरा, भैरहवा र जोमसोमका लागि उडान हुने गरेको थियो। सातामा एकपटक भए पनि उडान सुचारु गर्ने योजनामा रहेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारबाट १२ किलोमिटर दूरीमा छ।
कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा यात्रुको अभाव नहुने खड्काको भनाइ छ। उनले विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
