एनआरटीविरुद्ध जितसँगै पुलिस अंक तालिकामा चौथो स्थानमा यथावत् छ। २३ खेलमा १० जित, ४ बराबरी र ९ हार बेहोरेको पुलिसले ३४ अंक जोडेको छ।
काठमाडौँ– औसत टोली लिएर शहीद स्मारक लिग ‘ए’ डिभिजन लिग खेल्नमा होमिएको विभागीय टोली नेपाल पुलिस क्लब यसपटक रेलिगेसनमा पर्ने अनुमान गरिएको थियो। उसले लिगका छैटौँ खेलसम्म अनुमानित नतिजा निकाल्यो। चर्च ब्वाइज, हिमालयन शेर्पा, संकटा, मछिन्द्र र एपीएफ फुटबल क्लबविरुद्ध हार बेहोरेको पुलिसले यसबीचमा न्यूरोड टिम (एनआरटी)लाई मात्रै बराबरीमा रोक्न सफल भएको थियो।
७ खेल सकिँदा एक अंक जोडेको पुलिस पहिलोपटक रेलिगेसन जोनमा थियो। तर, तीन विदेशी खेलाडी भित्र्याएपछि यस्तो प्रदर्शन गर्यो कि अहिले पुलिससँग शीर्ष स्थानमा रहेको चर्च ब्वाइजभन्दा ७ अंक मात्रै कम रहेको छ। साबिक विजेता मछिन्द्र, चर्च ब्वाइज र जावलाखेलले बाँकी खेलमा नतिजा गुमाए पुलिसलाई उपाधि होडमा पुग्न कठिन हुने छैन।
२३औँ खेल खेल्नुअघि पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले पनि यस्तै भनेका थिए। "अब बाँकीका ४ खेलमा हामीले लगातार जित निकाल्यौँ भने टाइटलको दाबेदार बन्ने छौँ। तर, अन्य तीन टोली चर्च ब्वाइज, मछिन्द्र र जावलाखेलको नतिजामा पनि निर्भर हुनुपर्छ," उनले भनेका थिए, "तर हामी आज पनि तीन अंक लिएरै जान्छौँ। यो अंक हामीलाई महत्त्वपूर्ण छ।"
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा घिमिरेले भनेझैँ पुलिसले एनआरटीविरुद्ध तीन अंक खोस्न सफल भयो। यसपटक पनि पुलिसलाई जित दिलाउन विदेशी खेलाडी नै निर्णायक बने। खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ७७औँ मिनेटमा अग्रता लियो।
रविशंकर पासवानले फार साइडमा दिएको हाइ पासलाई घानाका फरवार्ड मोजेज जाबाहले एनआरटीका दुई डिफेन्डरको बीचबाट हेडर गर्दै गोलमा परिणत गरे। जारी लिगमा मोजेजको यो छैटौँ गोल हो।
त्यसपछि पनि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र पुलिसले महत्त्वपूर्ण तीन अंक जोड्यो। जितसँगै पुलिस अंक तालिकामा चौथो स्थानमा यथावत् छ। २३ खेलमा १० जित, ४ बराबरी र ९ हार बेहोरेको पुलिसले ३४ अंक जोडेको छ।
पुलिसभन्दा एक स्थान माथि रहेको जावालाखेलको ३७ अंक छ। तालिकामा शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको ४१ र मछिन्द्रको ३९ अंक छ। उनीहरूले पनि लिगमा तीन खेल खेल्न बाँकी छ।
जितपछि 'प्लेअर अफ द म्याच' बनेका फरवार्ड रविले रेलिगेसन क्षेत्रमा रहेको पुलिसले मिहिनेत गरेर यो स्थानमा आइपुगेको बताए। "६ खेलसम्म हाम्रो एक अंक थियो। त्यतिखेर रेलिगेसन जोनमा थियौँ। त्यसपछि हाम्रो टोलीले मिहिनेत गर्यो र यहाँसम्म आइपुग्यौँ। यसले खुशी बनाएको छ," उनले भने।
शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले जारी लिगमा जावलाखेल, थ्री स्टार र खुमलटारसँग खेल्न बाँकी छ। मछिन्द्रले भने पुलिस, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीसँग भिड्दा जावलाखेलले चर्च ब्वाइज, सातदोबाटो र थ्री स्टारसँग खेल्ने छ। उपाधि रक्षा र रेलिगेसनबाट बच्ने होड चलिरहँदा कसले कसलाई पराजित गर्छ भनेर अनुमान गर्न अहिले नै सकिँदैन। तर, पुलिसलाई उपाधितर्फ लम्कन उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ।
उसले अब मछिन्द्र, आर्मी र सातदोबाटोसँग खेल्ने छ। आर्मी २३ खेलमा ३० अंक जोडेर पाँचौँ स्थानमा छ। यस्तै, उत्कृष्ट चारको लक्ष्य बनाएको सातदोबाटो तीन खेल बाँकी रहँदा २९ अंकसाथ आठौँ स्थानमा छ। रवि अबका खेल कठिन हुने संकेत गर्छन्। अरूको नतिजामा पनि भर पर्नुपर्न भएका कारण उपाधि दाबेदार बन्न कठिन देख्छन् उनी। तर, आफूहरूको लक्ष्य योभन्दा माथिल्लो स्थानमा जाने रहेको उनी सुनाउँछन्।
"हामीलाई दर्शकको राम्रो समर्थन पनि मिलिरहेको छ। यसरी नै आएर समर्थन गर्दिन अनुरोध गर्दछु। अब हाम्रो लक्ष्य शीर्ष तीन छ," उनले जाँदाजाँदै भने।
रेलिगेसनसम्मुख फ्रेन्ड्स
जारी लिगमा ६ खेल मात्रै जितेको फ्रेन्ड्स क्लब रेलिगेसनसम्मुख छ। च्यासल मैदानमा बिहीबार सम्पन्न आफ्नो २३औँ खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेसँगै फ्रेन्ड्स दुई स्थान माथि रहँदै रेलिगेसन क्षेत्रबाट फुत्किन असफल भएको हो।
खुमलटारसँग १–० गोलअन्तरले पराजित हुँदै लिग शुरू गरेको फ्रेन्ड्सले २१औँ खेलमा सातदोबाटोलाई ४–० गोलअन्तरले पराजित गर्दै रेलिगेसनबाट जोगिने संकेत गरेको थियो। तर, अर्को खेलमा पुलिससँग २–१ गोलअन्तरले पराजित भएको फ्रेन्ड्सले अधिकांश चोटग्रस्त खेलाडीको भरमा रहेको शेर्पाविरुद्ध पनि लय समाउन सकेन।
बराबरीसँगै फ्रेन्ड्सको २३ खेलमा २५ अंक छ। फ्रेन्ड्सले ६ जित, ९ बराबरी र १० हारको नतिजा बेहोरेको छ। उसले मनाङ, संकटा र एपीएफविरुद्ध खेल्न बाँकी छ। २३ खेलमा २९ अंक रहेको एपीएफ सातौँ स्थानमा छ। एक खेल कम खेलेको मनाङ २८ अंक बटुल्दै १०औँ स्थानमा छ भने संकटा फ्रेन्ड्सभन्दा एक स्थान मात्रै माथि छ।
२३ खेल खेलेको संकटा २७ अंकसहित १२औँ स्थानमा छ। फ्रेन्ड्ससँग अंक बाँडेको शेर्पाको ३० अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। अब शेर्पाले रेलिगेसनबाट जोगिने योजना बुनिरहेको एनआरटीसँगै मछिन्द्र र आर्मीसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
